Logo
४ साउन २०८३, सोमबार

आँसुको दस्तावेज

अक्षरपाटी
२०८३ साउन ३ , आईतबार ०५:०७ मा प्रकाशित

o लिला अनमोल

यी आँखा जो एउटा उज्यालोको सपना देख्थ्यो
खुसिको घाम देख्थ्यो
तर यतिबेला आँखाहरूबाट बगिरहेछ पानी मात्र

बुझ !
जो मेरो चेतनाको पिण्ड पग्लेर खसेको
तिम्रो प्रेमको चरम र अन्तिम उत्खनन हो!

म त भर्खरै ब्युँझिदै छु यो महा-शून्यतामा
कि म त तिम्रो प्रेमको त्यो अगाध गहिराइमा डुबेकी रहेछु
जसको फेदमा न त कुनै प्रकाश थियो, न त कुनै किनारा।

हो,
यी आँसुले आज तिमीलाई नै सम्बोधन गरिरहेछ
मेरो गाला हुँदै खसेको प्रत्येक तप्त थोपाले
तिम्रो नामको एउटा एउटा भ्रमलाई पखालिरहेछ।
तिमीले त सोचेका होलाउ- म रोएर पग्लिँदै छु

तर हे निर्मोही!
यो त मेरो भित्री मन्दिरबाट तिम्रो कुरुप स्वार्थको
अन्तिम विसर्जन भइरहेको हो।
जुन प्रेमलाई मैले ब्रह्मज्ञान ठानेर पूजा गरेँ
त्यो त मेरो आत्माको उचाइ रहेछ, तिम्रो कद त निकै सानो थियो।

लाग्छ मेरो हत्केलामा खसेको यो थोपाभित्र
एउटा बिन्दुमा सिङ्गो ब्रह्माण्डको पीडा अटाएको छ।
यो मेरो पवित्र सद्भावको त्यो जीवन्त साक्षी हो
जसले तिम्रो कठोर हृदयको पत्थरलाई पनि एकदिन रेट्नेछ।

जतिबेला तिमी आफ्नो स्वार्थको मरुभूमिमा प्यासी हुनेछौ
त्यतिबेला तिमीलाई बोध हुनेछ
कि तिमीले गुमाएको त्यो समुद्र कति गहिरो र कति कञ्चन थियो!
यो आँसु जो बगिरहेछ आँखाबाट

बुझ
यो तिमीप्रतिको मेरो असीम प्रेमको चरम उचाई हो
जहाँ पुगेर शब्दहरू निसब्द भए र पानीले बोल्न थाल्यो।
मैले दिएको दुःखको साथ र निष्कपट समर्पणको
योभन्दा भव्य र योभन्दा तिखो स्मारक अरू के हुन सक्छ?

रुँदा-रुँदै भिजेका मेरा यी आँखाहरूले
अब तिम्रो विस्मृतिलाई होइन, आफ्नै मुक्तिलाई हेर्नेछन्।
मेरो यो आँसु— तिम्रो धोकाको अन्तिम हिसाब हो
र मेरो प्रेमको अमर दस्तावेज हो!

लिला अनमोल

ट्रेन्डिङ ( साप्ताहिक )