Logo
१७ भदौ २०८३, बुधबार

खोज तथा उद्धारमा तीन देशका सेना सक्रिय, अमेरिकी जहाजमा राहत सामग्री मात्रै

अक्षरपाटी
२०८३ भदौ १७ , बुधबार ०१:०९ मा प्रकाशित

काठमाडौं । रसुवामा आएको बाढीपछि उद्धार तथा खोजी कार्यमा सहयोग गर्न भारत, चीन र दक्षिण कोरियाका सैन्य टोली नेपाल आएका छन् । उनीहरू नेपाली सेनासँग समन्वय गरी विभिन्न स्थानमा खोज तथा उद्धार कार्यमा खटिएका छन् ।

यसैबीच, अमेरिकी वायुसेनाको जहाज नेपाल आएपछि ठूलो संख्यामा अमेरिकी सेना काठमाडौं आएको भन्ने चर्चा चले पनि नेपाली सेनाले त्यसलाई अस्वीकार गरेको छ । सेनाका अनुसार अमेरिकी जहाजमा बाढीपीडितका लागि राहत सामग्री मात्र ल्याइएको थियो ।

अमेरिकी वायुसेनाको ‘ट्रेक ९९०’ सिरिजको सी–३० कलसाइन भएको जहाज अगस्ट २७ (भदौ ११) बिहान करिब ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । जहाज करिब तीन घण्टापछि दिउँसो १२ः५० बजे फर्किएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका सहायक प्रवक्ता तथा प्रमुख एयर ट्राफिक कन्ट्रोलर देवेन्द्रप्रसाद श्रेष्ठले उक्त जहाज सोही समयमा आएर फर्किएको पुष्टि गर्दै बाढीपीडितका लागि राहत सामग्री ल्याएको जानकारी दिए । जहाजबाट ल्याइएका सबै राहत सामग्री नेपाली सेनाले बुझेको उनको भनाइ छ ।

नेपाली सेनाका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि अमेरिकी सेना नेपाल आएको भन्ने चर्चा निराधार रहेको स्पष्ट पारे । उनका अनुसार विदेशी मुलुकबाट राहत सामग्री वा जहाज आउँदा परराष्ट्र मन्त्रालयले सम्बन्धित देश तथा नेपालस्थित दूतावाससँग समन्वय गर्ने गरेको छ ।

उनले नेपालमा भने भारत र चीनका सैन्य उद्धार टोलीले सुरुङमा खोज तथा उद्धार कार्यमा नेपाली सेनासँगै काम गरिरहेको जानकारी दिए । दक्षिण कोरियाको टोली पनि नेपाल आइसकेको र रेकी (स्थलगत निरीक्षण) सकेर काममा जुट्ने तयारीमा रहेको उनले बताए ।

‘अहिले नेपाली सेनाबाहेक तीनवटा टोलीले काम गरिरहेका छन्,’ बस्नेतले भने, ‘जुन–जुन देशको परियोजना हो, त्यही–त्यही देशका टोली आएर नेपाली सेनासँग समन्वय गरी काम गरिरहेका हुन् ।’

उनका अनुसार अमेरिकी सैन्य टोली भने नेपाल आएको छैन । अमेरिकी वायुसेनाको जहाज राहत सामग्री लिएर मात्र नेपाल आएको सेनाले स्पष्ट पारेको छ ।

खोज तथा उद्धार रसुवा बाढी सेना सक्रिय

ट्रेन्डिङ ( साप्ताहिक )