काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पद छाड्ने बताएकी छिन्।
गत बिहीबार एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) को प्रथम प्रदेश परिषद् बैठकमा उनले विद्यालय शिक्षा विधेयकबारे आफू अत्यन्तै दबाबमा रहेको बताउँदै संसद्बाट पारित गर्न नसकेमा पदबाट राजीनामासमेत दिने घोषणा गरिन्।
विधेयक पार लगाउन नसकेको अवस्थामा शिक्षामन्त्रीको पदमा बस्न आवश्यक नरहेको उनले बताएकी थिइन्।
उनले भनिन्, ‘यदि विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर कुर्सीमा बसेको हो, सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ। काम गर्न सक्दिनँ भन्ने लागेको क्षण पद छोड्न तयार छु।’
हाल संसद्को शिक्षा, स्वास्थ्य समितिमा विद्यालय विधेयक छलफलकै क्रममा छ। समितिले विधेयकमाथि सातै प्रदेशबाट सुझाव संकलन गरी त्यसलाई एकीकृत र अद्यावधिक गरिरहेको छ।
विद्या भट्टराई