धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सिनेमा संवाद गरिएको छ ।
देशका अन्य क्षेत्रमा सिनेमा संवाद हुँदै आए पनि सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको हो ।
चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसियट्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा चलचित्र मार्फत स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ।
विभिन्न विषयवस्तुमा गरिएको संवादमा सुदूरपश्चिम प्रदेश चलचित्रको कथावस्तु र छायाँकनका लागि भर्जिन ल्याण्ड भएको चर्चा भयो।
अब यहाँका कला संस्कृतिहरुलाई विषयवस्तु बनाएर सिनेमा निर्माण हुनुपर्ने, यहाँका पर्यटकीय स्थललाई सिनेमा मार्फत प्रसार प्रसार गर्नुपर्ने लगायतका विषयमा सहभागीहरुले मत राखे।
कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती र सिनेमा–समाजको सम्बन्धबारे गहिरो छलफल गरिएको छ।
गाउँ केन्द्रित बनाउनुपर्छः अध्यक्ष ओझा
सिनेमा संवाद कार्यक्रमको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उद्घाटन गरेका थिए।
उद्घाटनमा बोल्दै अध्यक्ष ओझाले सिनेमा संवाद कार्यक्रमलाई अब गाउँ केन्द्रित बनाउनुपर्ने बताए।
सिनेमा चाहिने कथा, बिषयवस्तु र छायाकनका लागि ग्रामीण भेगहरु निकै सुन्दर भएकोले यसलाई गाउँ केन्द्रित बनाउनुपर्नेमा उनको जोड थियो।
जोरायल गाउँपालिकामा अभिनेता, निर्माता तथा निर्देशक विराज भट्टको साङ्लो चलचित्र छायाकन गरिएको थियो। सो चलचित्रलाई १० लाख रुपैयाँ समेत गाउँपालिकाले दिएको थियो।
विभिन्न बिषय केन्द्रित छलफल र संवाद
सिनेमा संवाद कार्यक्रममा विभिन्न विषयमा बहस र संवाद गरिएको छ । पहिलो सेसनको रुपमा नेपाली सिनेमा नवीन पुस्ता नवीन दृष्टिकोण विषयमा छलफल गरिएको छ।
उद्घोषिका निलम चन्दले सहजीकरण गरेको कार्यक्रममा नायिका उपासना सिंह ठकुरी, अभिनेता दिव्यदेव पन्त र चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी वक्ताको रुपमा थिए।
यो सेसनमा पछिल्लो समय नेपाली चलचित्रमा आइरहेका नयाँ पुस्ताको अवसर चुनौतीका साथै बदलिदो प्रविधिले पारिरहेको प्रभावको बारेमा संवाद गरिएको थियो ।
दोस्रो सेसनमा सिनेमामा सुदूरपश्चिम ईतिहास र संस्कृति विषयमा छलफल गरिएको थियो। पत्रकार सीताराम ओझाले सहजीकरण गरेको संवाद कार्यक्रममा वक्ताको रुपमा सुदूरपश्चिम क्षेत्रको कला संस्कृतिका जानकार साहित्यकार हेमन्त विवश, चलचित्र निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्का थिए।
कार्यक्रमको तेस्रो सेसनमा डोटेली भाषा सिनेमा र संगीतको विषयमा छलफल गरिएको थियो।
पत्रकार सीताराम ओझाले सहजीकरण गरेको संवादमा गीतकार हर्क साउँद, वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी र पत्रकार तथा सुदूरपश्चिममा पहिलो चलचित्र निर्माण गरेका उमिद वागचन वक्ताको रुपमा थिए।
सिनेमा संवादको चौथो सेसनका रुपमा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा सिनेमा विषयमा छलफल गरिएको थियो।
पत्रकार टेकेन्द्र देउवाले सहजीकरण गरेको कार्यक्रममा कलाकार सरस्वती खड्का, पहिलो डोटेली चलचित्र गौरीका निर्माता खड्गबहादुर मल्ल र थारु चलचित्र क्षेत्रका नायक प्रेम चौधरी वक्ताको रुपमा थिए ।