काठमाडौं। पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान २०८०’बाट सम्मानित हुने भएका छन्। आगामी विहीबार एक समारोहबीच उनलाई सम्मान गर्न लागिएको हो।
नेपालको न्यायिक निकायको नेतृत्व मात्र होइन संस्थागत विकासमा उनले पु¥याएको योगदानको कदर गर्दै सो पुरस्कारबाट सम्मानित गर्न लागिएको हो ।
नेपाल जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आज पत्रकार सम्मेलनमार्फत उनलाई सम्मान गर्न लागिएको जानकारी गराइएको हो।
लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
नेपाल जन प्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा श्रेष्ठका विचार, अडान र फैसलाहरूको ऐतिहासिक भूमिकालगायत विशिष्ट योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको बताए।
सम्मान प्राप्त गर्न लागेका श्रेष्ठ सर्वोच्चको २५औं प्रधानन्यायाधीश बनेका थिए। श्रेष्ठलाई २ लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ।
मानवतावादी व्यक्तित्व, ख्यातीप्राप्त प्रशासक एवम् व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा प्रेरणादायी योगदान गरेका कारण साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा हेमबहादुर मल्ल सम्मान २०५७ मा स्थापना गरेको हो।
पसार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिने यो हालसम्मकै ठूलो र प्रतिष्ठित पुरस्कार हो।
सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रत्येक वर्ष हेमबहादुर मल्ल सम्मान दिइँदै आएको छ।
यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोईराला, डा बिमल कोईराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान, भानुप्रसाद आचार्य र डा भेषबहादुर थापा यो पुरस्कारबाट सम्मानित भइसकेका छन्।
मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज, प्रमुख सल्लाहकार र अध्यक्षसम्म भएर सेवा गरेका थिए। सोही आधारमा उनको नामबाट पुरस्कार स्थापना गरिएको हो।
स्वर्गीय मल्लको जन्म विसं १९९५ मा निसिभुजी, बाग्लुङमा भएको थियो। उनी गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिल्स, नेपाल वनस्पति घ्यू उद्योग, खाद्य उद्योग र हितकारी गुठीको सञ्चालक समेत थिए।
उनको स्वर्गारोहण २०५७ सालमा भएको थियो।
कल्याण श्रेष्ठ नेपाल जन प्रशासन संघ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हेमबहादुर मल्ल सम्मान