Logo
३० भदौ २०८२, सोमबार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

अक्षरपाटी
२०८२ भदौ ३० , सोमबार १२:०९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रीहरूको शपथ ग्रहणसँगै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेको छ। सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवास परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

शपथ लिने मन्त्रीहरूमा रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री र ओमप्रकाश अर्याल गृह, कानुन तथा संसदीय मामिला मन्त्री छन्।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीलगायतको उपस्थिति थियो। यसअघि प्रधानमन्त्री कार्कीको शपथ ग्रहण कार्यक्रममा भने दाहाल सहभागी भएका थिएनन्।

जेन–जी आन्दोलनका क्रममा शीतल निवासमा आगलागी भएर क्षति पुगेपछि राष्ट्रपति भवनको परिसरमा टेन्ट राखेर शपथ ग्रहणको व्यवस्था गरिएको थियो।

अन्तरिम सरकार प्रमुख बनेकी कार्कीले आइतबार नै खनाल, अर्याल र घिसिङलाई मन्त्री नियुक्त गरेकी थिइन्। खनाल पूर्वअर्थसचिव हुन् भने अर्याल कानुनविद् तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत रहेका छन्। त्यस्तै, ऊर्जा मन्त्री बनेका घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्। उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले बर्खास्त गरेको थियो र त्यसपछि हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिइएको थियो।

यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् चार सदस्यीय बनेको छ।

शपथ ग्रहण

ट्रेन्डिङ ( साप्ताहिक )