Logo
२४ कात्तिक २०८२, सोमबार

एआईलाई सरकारको सारथी बनाएर जनताको उद्देश्य पुरा गरौँ : मन्त्री खरेल

अक्षरपाटी
२०८२ कात्तिक २४ , सोमबार ०७:११ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले एआईका कुरालाई आत्मासाथ गरेर अगाडि बढ्न सकेमा सुशासन कायम हुने बताएका छन्।

उनले यसको उपयोगबाट भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुने समेत धारणा व्यक्त गरे।

सोमबार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार, सुशासन, रोजगारी र नवप्रवद्र्धनको कुरा एआईले नै समेट्ने बताए।

त्यसैले यसलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तीका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए।

उनले भने,‘अब एआई, डिजिटल युगमा नेपाल अगाडि बढिसक्यो। जनतालाई पनि यसैमा समाहित गर्दै डिजिटल रुपान्तरणको बाटोमा अगाडि जाँदै छौँ। त्यसको आइओएम बनाउँदैछौं। यो ऐतिहासिक पहल हो। जेनजी आन्दोलनमा उठेका कुरा भ्रष्टाचार मुक्त देश, सुशासन, रोजगारी र नवप्रवद्र्धनको सबै कुरा एआईले नै समेट्ने छ। एइआईका धेरै कुरा आत्मासाथ गरेर अगाडि बढ्यौं भने सुशासन कायम गर्न सजिलो हुन्छ। यसलाई सरकारको पनि सारथी र जनताको उद्देश्य प्राप्तको लागि प्रयोग गर्न सक्छौं। सरकार अब आधुनिकताको बाटोमा अगाडि बढ्दैछ।’

उनले एआई केन्द्रको सुरुवात एउटा कोठाबाट सरल ढंगले गरेको बताए। आधुनिक बाटोको पहिलो पाइलाको रुपमा एआई केन्द्र सुरु गरेको भन्दै उनले यसलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

‘आज हामीले एआई केन्द्रको सुरुवात एउटा कोठाबाट गरेको छौं । अबको ५० वर्षपछि यो कतिको वृहत, विस्तृत होला र कति आधुनिक होला भन्नेमा अघि बढेका छौं । यो सुरुवात भएको कुरालाई निरन्तर अगाडि बढाउने छौं।’

एआई जगदीश खरेल सूचना प्रविधि मन्त्री