
काठमाडौं । लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट शाखा अधिकृतमा सिफारिस भएका उम्मेदवारहरूलाई चैतन्य एकेडेमीले सम्मान गरेको छ। शङ्खमुलस्थित एकेडेमी परिसरमा बुधबार आयोजित कार्यक्रममा सफल उम्मेदवारहरूलाई खादामाला र टीका लगाएर बधाई तथा शुभकामना प्रदान गरिएको हो।
विगत १२ वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको बधाई तथा शुभकामना कार्यक्रमको यो ३७औँ श्रृंखला हो। कार्यक्रममा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीसहित पूर्वसचिव गोपीनाथ मैनाली, पूर्व सहसचिव प्रतिक ढकाल, उपसचिव पर्शुराम पोखरेल, उपसचिव विजय कुमार शर्मा, उपसचिव हरि चन्द्र जोशी, उपचिव भुवन भट्ट, उपचिव मधुसुधन भट्टराई तथा चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशी सहभागी थिए।
सफल उम्मेदवारहरूले चैतन्य एकेडेमीले आफ्नो तयारी यात्रामा महत्वपूर्ण भूमिका खेलेको बताउँदै संस्थाको व्यावसायिकता, व्यवस्थापन र गुणस्तरीय शिक्षाको प्रशंसा गरे। उनीहरूले चैतन्यले परीक्षाका प्रश्नहरूको उत्तर लेख्ने अभ्यास मात्र नभई सार्वजनिक प्रशासनका बहुआयामिक विषयलाई स्थानीयदेखि विश्वव्यापीकरणसम्म बुझ्न सहयोग पुर्याएको धारणा व्यक्त गरे।
एकेडेमीले खरिदारदेखि सहसचिवसम्म लोकसेवामा सिफारिस हुने उम्मेदवारहरूलाई निरन्तर सम्मान गर्दै आएको छ। साथै विभिन्न पेसामा संलग्न व्यक्तिहरूको क्षमता अभिवृद्धि, नीति निर्माण तथा संगठनात्मक विकासका क्षेत्रमा पनि दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको छ। आर्थिक रूपमा कमजोर विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको एकेडेमीले कोरोनापछि हरेक शनिबार निःशुल्क तयारी कक्षा पनि सञ्चालन गरिरहेको छ।
कार्यक्रममा पूर्वअध्यक्ष मैनालीले सार्वजनिक प्रशासनको भावी पुस्तालाई नैतिकता, चरित्र, जिम्मेवारी र उच्च मर्यादाका साथ सेवा प्रवाह गर्न सुझाव दिए। नेपाल सरकारका सचिव विजय शर्माले निष्ठा, उच्च मनोबल र मूल्य–मान्यताको आधारमा कार्य सम्पादन गर्न उपस्थित सबैलाई आग्रह गर्दै घमण्ड नगर्न र सबैलाई समान रूपमा सेवा दिनुपर्नेमा जोड दिए।
चैतन्य एकेडेमीले राष्ट्रका प्राथमिकतासँग सम्बन्धित एजेन्डामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू सञ्चालन गर्दै आएको जानकारी पनि कार्यक्रममा दिइएको थियो।



