
काठमाडौं। आसन्न निर्वाचनका लागि देशैभरबाट पार्टीबाट टिकट पाउन अनेकन कसरत भइरहेकाबेला नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने निर्वाचन नलड्ने घोषणा गरेका छन्।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले आफू आगामी निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेका हुन्।
यद्यपि उनले आफू निर्वाचन नलडे पनि पार्टीबाट उम्मेदवार बन्ने साथीहरुको साथमा रहने बताएका छन्।
उनले आफू बाँचुन्जेल क्षेत्र कब्जा गर्ने सोच राख्ने, सास रहेसम्म मन्त्री बन्नुपर्ने राजनीतिक प्रवृत्ति भत्काउनुपर्न जरुरी रहेको धारणा समेत राखे।
उनको यो धारणा र चुनाव नलड्ने निर्णय आफ्नै पार्टी नेतृत्व र अन्य पार्टीमा देखिएको प्रवृतिप्रतिको कठोर व्यंग्यका रुपमा पनि धेरैले अर्थ्याएका छन्।
‘आफ्नो शक्तिले भ्याएसम्म उम्मेदवार बन्ने, हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हारे पनि अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा उम्मेदवार बन्नैपर्ने, बाँचुञ्जेज क्षेत्र कब्जा गर्ने सोच राख्ने, सासले भ्याएसम्म मन्त्री रहीरहनुपर्ने’, उनले भने, ‘हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ।’
उनले चुनावमा अनुहार बदल्नुपर्ने आवश्यकता रहेकाले त्यसका लागि आग्रह समेत गरे।
विश्वप्रकाश शर्मा


