Logo
७ फागुन २०८२, बिहीबार

कञ्चनपुर २ मा चुनावी चटारो : कसैलाई गुम्ने डर, कसैलाई एजेन्डाको भर

अक्षरपाटी
२०८२ फागुन २ , शनिबार ०१:०२ मा प्रकाशित

o अक्षरपाटी विशेष संवाददाता

झलारी। आसन्न फागुन २१ को प्रतिनिध सभा निर्वाचनको माहोल करिब देशभर गर्माएको छ।

यही मेलाेमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पनि चुनावी राैनक बढेको छ। कञ्चनपुर २ मा यसपटकको चुनाव केवल दलबीचको प्रतिस्पर्धा मात्र होइन, पटक पटक अवसर पाएका पुराना शक्ति र नयाँ राजनीतिक विकल्पबीचको भिडन्तका रूपमा हेरिएको छ।

यहाँको चुनावी समीकरणले पुरानाे राजनीतिक वर्चस्वलाई चुनौती दिँदै नयाँ शक्ति उदाउनसक्ने सम्भावनालाई बलियो बनाएको विश्लेषण गरिन थालेको छ।

पुरानालाई अघिल्लो उपलब्धिको भर, नयाँलाई विकल्पको लहर

आसन्न निर्वाचनमा यस निर्वाचन क्षेत्रमा पुराना दलका उम्मेदवारहरू आफ्नो यसअघिको राजनीतिक अनुभव, पहुँच र उपलब्धिलाई मुख्य आधार बनाएर मत माग्न तल्लिन छन्।

नेपाली कांग्रेसका एनपी साउद, एमालेका बचनबहादुर सिंह र नेकपाका माधव पन्तले आफ्नो राजनीतिक पृष्ठभूमि, संगठन, विगतको अनुभव र भए/गरेका कामलाई देखाएर मतदाता फकाइरहेका छन्।

तर उनीहरूको रणनीति मतदाताको बदलिँदो मनोविज्ञानसँग खासै मेलखान सकिरहेको छैन। कारण जेनजी आन्दाेलनपछि आम मतदाता वाचा, आश्वासन, विगतको फेहरिस्त र आगतको सपनामा अलमलिने अवस्थामा देखिँदैनन्।

अर्कोतर्फ, २०६४ सालमा माओवादीकाेजस्तै लहर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहरा परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कारलाई मूल एजेन्डा बनाएर मतदाताको माझमा पसेका छन्।

पुराना दलप्रति बढ्दो निराशा र असन्तुष्टिलाई अवसरमा रुपान्तरण गर्दै उनी वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधित्व गरिरहेका छन्।

कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि ठूलो चुनौती

नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद साढे तीन दशकदेखि यस क्षेत्रको परिचित अनुहार भए पनि यस क्षेत्रका जनताको जीवनस्तरमा उल्लेख्य परिवर्तन हुन नसकेको अवस्थालाई बोहरा लगायतका उम्मेदवारले उठाइरहेका छन्।

यहाँका आरक्षपीडित, सुकुम्बासी र नदी कटानपीडितका समस्या हुन वा अधुरा र अलपत्र योजनालाई दशकाैँदेखि चुनावी मुद्दा बनाउने गरेका कारण पनि यसपटक साउद असहज अवस्थामा देखिनसक्ने मतदाताहरु बताउँछन्।

पार्टीभित्रै देखिएको असन्तुष्टि, विशेषगरी पार्टी नेतृत्व शेरबहादुर देउवा जेनजी आन्दोलनको आक्रमणदेखि पार्टीभित्रैबाट अप्ठेराेमा पर्दा पनि पटक पटक अवसर दिएको नेतृत्वको पक्षमा नउभिएको चरम असन्तुष्टि उनीप्रति बढ्दो छ।

अझ कांग्रेसको दोस्राे विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि तीनपटक मन्त्री र पटक पटक टिकट दिएका देउवालाई चटक्कै लत्याएर यसपटक पनि टिकट लिएर साउद चुनावमा होमिएकोमा देउवा निकटका कांग्रेसीको चित्त दुखाएको छ।

यसको असर डडेल्धुराबाट यस क्षेत्रमा बसोबास गर्दै आएका मतदाताले साथ नदिने सम्भावना बढेको राजनीतिक वृतमा चर्चा छ ।

त्यस्तै एउटै पार्टीमा रहेर पनि रमेश लेखकसँगकाे राजनीतिक अस्वथ्य प्रतिस्पर्धाको परिणाम बैतडी मूलथलो भएका कांग्रेस समर्थकहरूको पनि असन्तोष बढेको मतदाता बताउँछन्। जसले साउदको मताधारमा क्षति पुग्ने सम्भावना बढाएको छ।

नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर यतिबेला देउवाको साथमा उभिने थोरैमध्यमा एक नेता हुन। उनीसँगको राजनीतिक दूरीले पनि मत प्रभावित हुने आशंका काँग्रेस कार्यकर्तामै देखिन्छ।

त्याे मात्र होइन पार्टीको नयाँ नेतृत्वले टिकट वितरण गर्दा मौन बसेको विषयले लामो समयसम्म एउटै उम्मेदवारलाई समर्थन गर्दै आएका परम्परागत मतदातामा ‘अब विकल्प खोज्नुपर्छ’ भन्ने मनोविज्ञानमा पुगेकाे टिप्पणी हुनेगरेको छ।

एमाले र नेकपा : संगठन बलियो, जरा कमजोर

एमालेका बचनबहादुर सिंह र नेकपाका माधव पन्त दुवै युवा र अनुभवी नेता त हुन तर उनीहरूको स्थानीय सामाजिक जरा अपेक्षाकृत कमजोर रुपमा हेरिने गरेको छ।

सिंह बाजुराबाट र पन्त बैतडीबाट आएका नेता हुन्। यसले स्थानीय पहिचान र भूगाेलकाे सम्बन्धलाई महत्त्व दिने मतदातामा उनीहरूप्रतिको झुकाव निकै कमजाेर हुनसक्ने अनुमान राजनीतिक जानकारहरुकाे छ।

एमालेको संगठनात्मक संरचना बलियो भए पनि जेनजी आन्दाेलनमा एमाले नेतृत्वकाे सरकारले गरेकाे दमनकाे असर उम्मेदवारमा पर्ने अनुमान देशैभरजस्ताे यहाँ पनि व्याप्त छ।

उनी केन्द्रीय नेताहरुसँगकाे सम्बन्धमा सबल भए पनि स्थानीय स्तरको सामाजिक सम्बन्धमा कमजाेर नेताका रुपमा हेरिने गरेकाे टिप्पणी हुनथालेकाे छ।

रास्वपाको देशव्यापी लहर

देशव्यापी रुपमा यसपटकको निर्वाचनको सबैभन्दा चाखलाग्दाे पक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रिय उपस्थिति हो।

दीपक बोहरा रास्वपाबाटै कञ्चनपुर २ मा उम्मेदवारका रुपमा सक्रिय भएका छन्। लामाे समय सञ्चारकर्ममा लागेका उनी भ्रष्टाचारविरुद्ध आवाज उठाएका र पीडितको पक्षमा उभिएका व्यक्तिका रूपमा स्थापित छन्।

उनी पार्टी सभापति रवि लामिछानेका विश्वासपात्रका रूपमा समेत चिनिन्छन्, जसले उनको राजनीतिक पहुँच र संगठनात्मक समर्थनलाई थप बल दिएको छ।

पार्टी सभापति लामिछानेसँगकाे निकटताले भोलिका दिनमा उनले यहाँकाे आवाज सिधा पार्टी सुप्रिमोसम्म पुर्याउनसक्ने सम्भावनाका रुपमा हेरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको ‘नयाँ विकल्प’ को नाराले विशेषगरी युवा, पहिलोपटक मतदान गर्न लागेका मतदाता र परम्परागत दलप्रति निराश भएका समूहलाई आकर्षित गर्नसक्ने अनुमान राजनीतिक विश्लेषकहरुको छ।

सुकुम्बासी र अपूरा प्रतिबद्धता : निर्णायक मुद्दा

शुक्लाफाँटा आरक्ष क्षेत्रबाट नागरिक विस्थापित भएको वर्षाैँ भइसक्याे। चुनावी माैसममा याे मुद्दा निरन्तर चर्को भएर उम्मेदवारहरुले उठाउँदै आएका छन्।

आरक्ष पीडित, सुकुम्बासी र भूमिहीनको समस्या वर्षौंदेखि समाधान होइन ज्यूँका त्यूँ राखिन्छ। यसपटक पनि पुरानाले यही मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाएका छन भने नयाँले यसलाई ‘फुल पार्ने कुखुरा’ बनाएको आरोप लगाउँदै आएका छन्। जसले गर्दा नयाँ उम्मेदवारको पक्षमा माहोल बलियो बन्दै गएको जानकारहरु बताउँछन्।

चल्नसक्छ परिवर्तनको हावा

कञ्चनपुर–२ मा यसपटकको निर्वाचन परिणाम केवल विगतको विरासत र संगठनको बलले मात्र निर्धारण गर्ला भन्न नसकिने अवस्था छ।

मतदाताको मनोविज्ञान, पुराना दलप्रति बढ्दो असन्तुष्टि, अवसरका लागि आफ्नै नेतृत्वप्रति देखाएको वेवास्था, अवसरवादी चरित्र, पार्टीभित्रकै आन्तरिक असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको उदयले चुनावको परिणाम रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।

एनपी साउद कञ्चनपुर २ दिपक बोहरा निर्वाचन बचनबहादुर सिंह माधव पन्त