Logo
१३ असार २०८३, शनिबार

गगनप्रति रविको व्यंग्य : २० वर्षपछि कानुन फेर्ने ज्ञान आयो

अक्षरपाटी
२०८२ फागुन १२ , मंगलबार ०४:०२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले मुलुक अब विकास–निर्माणको नयाँ चरणमा प्रवेश गरेको दाबी गर्दै प्रमुख प्रतिपक्षी दलका नेताप्रति कडा टिप्पणी गरेका छन्।

चुनावी सभालाई सम्बोधन गर्दै उनले अब विकासका काम रोक्ने छुट कसैलाई नभएको बताए। ‘देश विकास निर्माणको बाटोमा अगाडि बढिसक्यो। अब कसैले छेक्न सक्दैन,’ उनले भने, ‘कानुनले बाँध्ने हो, डोरीले होइन। कानुनअनुसार काम गरे कसैले केही गर्दैन।’

केही दिनअघि धनगढीको सभामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सडक निर्माणमा ढिलासुस्ती गर्नेलाई ‘रुखमा बाँधेर भए पनि काम गराउने’ अभिव्यक्ति दिएका थिए। सो विषयलाई लिएर आलोचना भएपछि सभापति लामिछानेले त्यसको प्रतिरक्षा गर्दै कानुनी दायराभित्र रहेर कडाइ गरिने स्पष्ट पारे।

‘निर्माण व्यवसायी साथीहरू आत्तिनुपर्दैन,’ उनले भने, ‘काम कानुनअनुसार भयो भने कसैले केही गर्दैन। तर ढिलासुस्ती र बेथिति भने अब सह्य हुँदैन।’

यसैक्रममा उनले गगन थापा लाई लक्षित गर्दै व्यंग्य गरे। लामो समयदेखि संसद र सरकारमा रहँदा पनि विकासका लागि आवश्यक कानुनी सुधार नगरेको आरोप लगाउँदै उनले भने, ‘२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ? त्यो ज्ञान तपाईँसँगै राख्नुहोला।’

लामिछानेले विकास निर्माणका काम तीव्र गतिमा अघि बढाइने बताएका छन्। ‘अब दुई सिफ्ट, तीन सिफ्टमा काम हुन्छ। रातरात काम हुन्छ,’ उनले भने, ‘उपकरण अपुग छन् भने ल्याउनुस्, प्रक्रिया मिलाएर ल्याउनुस्। नेपाल अब विकास निर्माणको युगमा प्रवेश गरिसकेको छ।’

उनले विगतमा नीतिगत अस्पष्टता, राजनीतिक हस्तक्षेप र ढिलासुस्तीका कारण ठूला आयोजना प्रभावित भएको उल्लेख गर्दै अब स्पष्ट कानुनी व्यवस्था र कडाइका साथ कार्यान्वयन गरिने दाबी गरे। ‘विकास रोक्ने संस्कार अन्त्य हुन्छ,’ उनले भने, ‘अब परिणाम देखिने गरी काम हुन्छ।’

गगन थापा निर्वाचन रवि लामिछाने

ट्रेन्डिङ ( साप्ताहिक )