Logo
१६ वैशाख २०८३, बुधबार

फाप्लाका लागि बजेट सुनिश्चित गर्छु : नवनिर्वाचित सांसद चन्द

अक्षरपाटी
२०८२ फागुन २३ , शनिबार ०९:०३ मा प्रकाशित

धनगढी। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्दले निर्वाचित भएलगत्तै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बजेट सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

चन्दले प्रमाणपत्र ग्रहण गरेलगत्तै फाप्लाको भ्रमण गर्दै आवश्यक कागजी प्रक्रियाहरु पूरा भइसकेकाले अब बन्ने रास्वपा सरकारले पूर्वाधार निर्माणलाई मुर्तरुप दिन बजेट सुनिश्चित गर्ने प्रतिबद्धता गरे।

‘फाप्लाका विषयमा मैले पहिलेदेखि नै अध्ययन गरेको छु। मेरो चुनावी एजेन्डामा पनि यो परियोजना परेको छ,’ चन्दले भ्रमणका क्रममा भने, ‘सदूरपश्चिम क्रिकेट उत्पादन गर्ने फ्याक्ट्री हो। फ्याक्ट्रीलाई जोगाउन मेरो पूर्ण सहयोग रहन्छ।’

नवनिर्वाचित चन्दलाई मैदानमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुवाश शाहीले स्वागत गरेका थिए।

शनिबार दिउँसो सम्पन्न मतगणना अनुसार चन्द ३१ हजार ९ सय ५३ मत विजयी भएका हुन्। चन्दको चुनावी घोषणापत्रमा पनि फाप्ला निर्माणलाई प्राथमिकता दिने उल्लेख छ।

आनन्दबहादुर चन्द