Logo
१८ वैशाख २०८३, शुक्रबार

डडेल्धुरामा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत

अक्षरपाटी
२०८२ फागुन २३ , शनिबार १०:०३ मा प्रकाशित

काठमाडौं। ३४ वर्षदेखि शेरबहादुर देउवालाई विजयी गराउँदै आएको डडेल्धुराले यसपटक भने फरक अनुहार चुनेर पठाएको छ।

सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा देउवाको किल्ला मानिने डडेल्धुरामा कांग्रेसकाे विरासत ढलेको हो।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशीले ऐतिहासिक जित हात पारेका हुन्।

उनले देउवाले ७ पटक निर्वाचनमा विजय प्राप्त गरेको डडेल्धुरामा नेपाली कांग्रेसका नैनसिंह महरलाई फराकिलाे मतान्तरले हराउँदै जित निकालेका हुन्।

जोशीले १९ हजार १३१ मत प्राप्त गर्दा महरलाई १२ हजार १२१ मत मात्र प्राप्त भएको थियो। जसका कारण महरले देउवाको विरासत जाेगाउन सकेनन्।

२०४८ सालदेखि देउवा डडेल्धुरामा नेपाली कांग्रेसबाट सदाबहार उम्मेदवार र अपराजित रहँदै आएका थिए।

पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति देउवा यसपटक चुनावी मैदानमा नभएका कारण त्यहाँ काँग्रेसले हार बेहोरेको हो।

‘जेनजी’ आन्दोलनका क्रममा आफ्नै घरमा सांघातिक आक्रमणको सिकार बनेका देउवा निर्वाचन अघि सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिबाट विस्थापित बनेका थिए।

विशेष महाधिवेशनबाट गगन कुमार थापा कांग्रेसको नेतृत्वमा आए पनि देउवाको डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने इच्छा थियो। तर, उनले चुनाव लड्ने अवसर पाएनन्। उनको उत्तराधिकारीका रुपमा आएका महरले मने सो स्थान जोगाउन सकेनन्।

महरले जनताको मताधिकारको कदर गर्दै जोशीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।

डा. ताराप्रसाद जोशी निर्वाचन नैनसिंह महर

ट्रेन्डिङ ( साप्ताहिक )