



काठमाडौं। पेट्रोलियम पदार्थको अधिक मूल्यवृद्धिले आम उपभाेक्ता महंगीकाे मारमा परेको विषय संसदीय समितिमा उठान भएको छ।
सांसद प्रकाश पाठकले नेपालमा पेट्रोलियम पदार्थको लगातार भइरहेको मूल्यवृद्धिलाई लिएर गम्भीर प्रश्न उठाएका हुन्।
प्रतिनिधिसभा अन्तर्गत उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले इन्धन मूल्य निर्धारण प्रक्रिया र त्यसको पारदर्शितामाथि गम्भीर आपत्ति जनाएका हुन्।
समितिको कार्यसूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कामकारबाहीमाथि छलफलका क्रममा सांसद पाठकले नेपालमा पेट्रोलियम मूल्य छिमेकी मुलुकभन्दा किन उच्च रहेको भन्ने विषय उठाएका हुन्।
उनले प्रस्तुत गरेको नोटमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटानबीचको मूल्य तथ्यगत रुपमा तुलना गर्दै उपभोक्तामाथि अनावश्यक बोझ थोपारिएको जिकिर गरे।
त्यति मात्र होइन सांसद पाठकले नेपाल आयल निगमको मूल्य निर्धारण प्रणालीमाथि आशंका व्यक्त गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपाली उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ नपाइरहेको बताए।
‘मूल्य समायोजनको आधार स्पष्ट छैन, जनतालाई ठोस जानकारी दिइनुपर्छ,’ उनले भने,’भुटानजस्तो भुपरिवेष्टित मुलुकमा त्यहाँका जनताले १०२ रुपैयाँमा पेट्राेल उपभाेग गर्न पाइरहेका छन्, नेपालमा २१७ रुपैयाँ तिर्नुपर्ने कारण के हाे, कहीँ न कहीँ कैफियत छ, सरकार उपभाेक्ताको हितमा गम्भीर हुनैपर्छ।’
सांसद पाठकले इन्धन मूल्यवृद्धिले यातायात भाडादेखि दैनिक उपभोग्य वस्तुको मूल्यमा गभ्मीर असर पारेको र महँगी बढाएको उल्लेख गर्दै सरकारलाई प्रभावकारी नियमन र पारदर्शी नीति ल्याउन आग्रह गरे।
उनले सरकार आफ्नै भए पनि सांसद जहिले जनताको आवाज हुनुपर्ने स्मरणसमेत गराए। सांसद पाठकले उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै दीर्घकालीन ऊर्जा विकल्पतर्फ ध्यान दिनुपर्नेमा जोड दिएसमेत दिए।
उनको यो अभिव्यक्तिले पेट्रोलियम मूल्यवृद्धिको विषय फेरि एकपटक राजनीतिक र सार्वजनिक बहसको बिषय बनेको छ।
नेपाल आयल निगम प्रकाश पाठक सांसद



