Logo
१८ जेठ २०८३, सोमबार

४५ दिन बाँकी रहँदा सरकारको खर्च ६४ प्रतिशत मात्रै

अक्षरपाटी
२०८३ जेठ १५ , शुक्रबार ०१:०५ मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ सकिन अब ४५ दिन मात्र बाँकी रहँदा सरकारले कुल बजेटको ६३.७६ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार १५ जेठसम्म सरकारले १२ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । तर आर्थिक वर्ष अन्त्य नजिकिँदासमेत खर्च अपेक्षाअनुसार हुन सकेको छैन ।

तथ्यांकअनुसार चालु खर्चतर्फ ८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ खर्च भएको छ, जुन लक्ष्यको ७२.८५ प्रतिशत हो । चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

यस्तै, पूँजीगत खर्च भने अत्यन्त न्यून देखिएको छ । ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएको पूँजीगत बजेटमध्ये हालसम्म १ खर्ब २३ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको ३०.१८ प्रतिशत हो ।

वित्तीय व्यवस्थातर्फ भने ७१.६४ प्रतिशत खर्च भएको छ । यस शीर्षकमा ३ खर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ खर्च भइसकेको महालेखाको तथ्यांकमा उल्लेख छ ।

राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको छैन । बुधबारसम्मको विवरणअनुसार सरकारले १० खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको ६९.३३ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।

हालसम्मको राजस्व संकलन र सरकारी खर्चबीच झण्डै २ खर्ब रुपैयाँको अन्तर देखिएको छ ।

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । हरेक वर्षजस्तै लक्ष्यअनुसार राजस्व संकलन नहुने र विनियोजनअनुसार खर्च हुन नसक्ने समस्या यस वर्ष पनि दोहोरिएको देखिएको छ । आगामी बजेटमार्फत सार्वजनिक खर्च र राजस्व व्यवस्थापनमा सुधार गर्ने प्रतिबद्धता जनाइने अपेक्षा गरिएको छ ।

ट्रेन्डिङ ( साप्ताहिक )