Logo
३२ असार २०८३, बिहीबार

‘बैकिनी’मा बुनिएको कर्णालीको कथा

अक्षरपाटी
२०८३ असार ३२ , बिहीबार १०:०७ मा प्रकाशित

o उषा जोशी

‘बैकिनी’
नामले नै मन तानेको थियो ।
पुस्तक पढ्न सुरु गरेँ। सुरुवात सामान्य नै लागेको थियो। जतिजति पुस्तका पानाहरू पल्टिँदै गए म मेरो समाज, मेरी दिदीबहिनी, आमा, हजुरआमा, आदिकै कथा पढिरहेको अनुभूति गर्दै थिएँ।

लेखक : उषा जोशी

पुस्तकको कति ठाउँमा त म आफैँले लेखेको जस्तो भान हुँदै थियो, सायद मेरो अवचेतन मनमा पनि यी कथाहरू बसेका थिएहोला, लेखकको मनमा जस्तै । जो मैले लेख्ने शाहस गरिन् या समय मिलाउन सकिन्!

अहिले केही समय घरमै छु। यसकारण मलाई पुस्तक पढ्न समय प्रयाप्त छ। उस्तै पनि मलाई अनावस्यक विषयमा बहस या अर्काको टिकाटिप्पणी गरेर समय खर्चिनु भन्दा पुस्तकका पानाहरूमा हराउनुमा छुट्टै आनन्द महसुस हुन्छ।

यस पुस्तकमा लेखकले हाम्रो पृतिसत्तात्मक सोच, त्यसले पारेको सामाजिक, शैक्षिक, आर्थिक र मनोवैज्ञानिक असर- जसका कारण समाजमा नारीहरूले भोग्दै आएको नियतिलाई कर्णालीका भोगाइका कथाहरूको माध्यमबाट अत्यन्त मार्मिक तरिकाले उदाङ्ग पारेकी छन्।

‘ती शब्दहरू छुरीभन्दा धारिला थिए। ती गालीहरू काँडाभन्दा तिखा थिए। ती स्वरहरू रातको शीत झैँ बिस्तारै मलाई घेर्थे र मनभित्र चिसो बनाउँथे। म कहिलेकाहीँ आफैलाई सोध्थेँ- के म पाप गरेर जन्मिएकी हुँ? के छोरी जन्मिनु पाप हो?’

नारीहरूले भोगेको पीडा र शोकलाई शक्तिमा बदल्ने शाहसलाई अत्यन्त गौरवमय ढंगले प्रस्तुत गर्ने क्रममा लेखकद्वारा भित्रैबाट उर्जा अनुभूति गराउने आख्यानात्मक अभिब्यक्तिले अझ उपन्यासलाई सुन्दर र रोचक बनाएको छ।

नारीहरूले भोगेको पीडा र शोकलाई शक्तिमा बदल्ने शाहसलाई अत्यन्त गौरवमय ढंगले प्रस्तुत गर्ने क्रममा लेखकद्वारा भित्रैबाट उर्जा अनुभूति गराउने आख्यानात्मक अभिब्यक्तिले अझ उपन्यासलाई सुन्दर र रोचक बनाएको छ।

‘प्रत्येक पर्खालमा चर्किएको चित्कार थियो, प्रत्येक ढोकामा बन्द घाउ थियो । प्रत्येक झ्यालमा नदेखिएका आँसुको दियो बलिरहेका थिए। आधा जिवित, आधा मृत। तर अब केवल एक यात्री होइन बरू ती चिच्याइरहेका आवाजहरूको वाहक भएर उभिनेछु।’

यस उपन्यासमा प्रमुख पात्र ‘बैका’लाई एक सशक्त नारी पात्रको रुपमा उभ्याइएको छ। जुन पात्र सामूहिक बलत्कार जस्तो घटनाबाट गुज्रिएर कोमामा पुगेको अवस्थामा अस्पतालको शय्यामा उसको अवचेतन मनले अनुभूति गरेका घटनाहरूलाई फरक फरक कथाको रुपमा प्रस्तुत गर्दै कर्णालीको भौगोलिक बिकटता र त्यहाँका मानिसहरूले दैनिक जीवन यापनकालागि गर्नु परेको संघर्ष। भौगोलिक विकटताकै कारण फक्रिन नपाउँदै झरेका जिन्दगीहरू। अर्थात नुनकै लागि कर्णालीले वर्षौँ गरेको संघर्षका कथाहरू अत्यन्त मार्मिक र कारुणिक छन्।

‘नुन स्वादको मात्र कुरा थिएन, अब पीडाको परिभाषा बनेको थियो।’

‘गरिबीको पीडा कति गहिरो अनि कति गह्रौँ हुँदो रहेछ, जसले बाबुलाई लाचार र आमालाई मौन बनाइदियो।’

यस्ता मुटनै हल्लाउने हरफहरू पढ्दा साच्चै यो उपन्यास नभएर आफ्नै जीवनको कथा हो लाग्छ।

गरिबीको चरम अवस्था, स्वास्थ्य, खाना, पानी र एकसरो लत्ताकपडाको खोजिमा परदेसिएका सम्बन्धहरू, घरमा दुख सुख गरेर बालबच्चा हुर्काइरहेकी एक्ली महिला, उसको प्रेम र विस्वासमा भएको घात त्यसकै कारणले भएको एचआइभी संक्रमण र समाजले लगाइदिएको कलंक एक नारीकालागि कति पीडादायी हुन्छ भन्ने यथार्थ कथा नौला होइनन् तर यी घटानालाई प्रस्तुत गर्ने लेखकको शैली बेजोड छ।

‘मान्छेले सोच्छ, नारीलाई समाजका तिखा वचन, गरिबीका चपेटा, रोग र बिपत्तिले मात्र टुटाउँछ। तर होइन रहेछ नारीलाई वास्तवमै टुटाउने कुरा त प्रेम रहेछ।’

‘मान्छेले सोच्छ, नारीलाई समाजका तिखा वचन, गरिबीका चपेटा, रोग र बिपत्तिले मात्र टुटाउँछ। तर होइन रहेछ नारीलाई वास्तवमै टुटाउने कुरा त प्रेम रहेछ।’

उपन्यासमा रोग, शोक, भोक, अशिक्षा तथा अन्धविश्वासको तुवाँलो भित्र निसास्सिएको कर्णालीका नारीहरूको जनजीवन एकातिर छ भने अर्कोतिर जातीय छुवाछुत, लैङ्गक विभेद, हिंसा, बलात्कार जस्ता क्रूर, अमानवीय र सामाजिक तथा कानुनी अपराध जस्ता घटनाहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यो समाजले गरिरहेको समर्थन, ढाकछोप, मलजल अनि निरन्तरतालाई विभिन्न कथाका माध्यमबाट प्रस्तुत गर्ने उनको शैली उस्तै रोचक र सुन्दर छ।

यस उपन्यासका घटनाक्रमहरू सिलसिलाबद्ध र पात्रको मनोवैज्ञानिक पक्षलाई समेटेर सामाजिक घटनाहरू प्रस्तुत गर्दा अझ रोचकता थपिएको छ। यस उपन्यासमा ब्यक्तिको मानसिक स्वास्थ्यलाई लिएर समाजले हेर्ने दृष्टिकोण र त्यसले पारेको प्रभाव पनि महसुस गर्न सकिन्छ।

‘मौनता कस्तो विष हो- जसले पाठेघरको पीडा सहेकी स्त्री दाँत दुख्छ भन्दै आँउछिन। छाती पोलिरहेको भन्छिन्, हृदय च्यापेर बस्छिन्।’

महिलाहरूलाई हाम्रो समाजले दिने दर्जा, महिलाको नेतृत्वको स्वीकार्यतामा देखिएका चुनौतीहरू, महिलाहत्या, हिंसा, बलात्कार, जातीय र लैङ्गिक विभेद आदिले जन्माएका मानसिक, शारीरिक र सामाजिक समस्याहरूलाई अत्यन्त मार्मिक, कारुणीक र मिहिन तवरले प्रस्तुत गर्नु आख्यानकारको काैसलता त हो ।

साथै महिलालाई तिमी कमजोर छैनौ र तिमीले यस्तो रुढीबादी र अशिक्षित समाजसँग लाचार भएर अत्याचार सहने होइन आफूलाई र सम्पूर्ण नारीहरूलाई शिक्षित र सशक्त बनाएर लड्नु पर्छ भन्ने शाहस र उर्जा दिँनुका साथै हरेक घटनाका दोषीहरूलाई सजाय दिएको या बदला लिएको दृश्यले लेखकले नारीहरूमा दिन खोजेको आत्मबल र सकारात्मक उर्जाको मनोवैज्ञानिक पक्ष अत्यन्त प्रेरणादायी र शसक्त छ।

‘कति पुस्तासम्म नारीले पीडालाई आफ्नो उत्तराधिकार झैँ बोकिरहनु पर्ने हो ? कति पुस्तासम्म मौनतालाई दबाइरहनुपर्ने हो ?’

उपन्यासमा प्रमुख पात्रले त्यस्तो पीडाले भरिएको जीवनमा पनि अथक परिश्रम गरेर सफलता हासिल गर्नु, रुढीग्रस्त ग्रामिण बस्तीलाई कार्यथलो रोज्नु र आफ्ना अग्रजका अधुरा सपनाहरूलाई पूरा गरि समाज रुपान्तरणमा योगदान दिनु जस्ता पक्षले सामाजिक उत्तरदायीत्व बहन गर्न नयाँ पुस्तालाई झक्झक्याउने काम गरेको छ।

हेडसरसँगको प्रेम र बिवाहको प्रसङ्गले, मान्छे प्रेमबिना बाच्न सक्दैन र उसको शरीर र मन जति कठिन अवस्थामा भए पनि ऊ भित्रको प्रेम बाँचिरहेकै हुन्छ भन्दै प्रेमले जस्तोसुकै घाउ पुरिने विस्वास व्यक्त गर्दछ।

उनको हेडसरसँगको प्रेम र बिवाहको प्रसङ्गले, मान्छे प्रेमबिना बाच्न सक्दैन र उसको शरीर र मन जति कठिन अवस्थामा भए पनि ऊ भित्रको प्रेम बाँचिरहेकै हुन्छ भन्दै प्रेमले जस्तोसुकै घाउ पुरिने विस्वास व्यक्त गर्दछ।

‘अन्तत: प्रेम त प्रेम नै हो । जहाँ सच्चा हृदय हुन्छ त्यहाँ हरेक बन्धन टुक्रिँदै रहेछ।’

समग्रमा बैकिनी उपन्यासकी लेखक एक कर्णालीकी चेली उसको आफ्नै भूमिमा घटिरहेका अत्यन्त लज्जास्पद र कानुन विपरितका घटनाहरू र त्यसले पारेको बहुपक्षीय प्रभावलाई हटाएर शिक्षित, शसक्त, समृद्ध र समतामूलक समाजको निर्माणकालागि कलमको आन्दोलन गरिरहेकी छन्। उनी यसका लागि नारी पुरूष सबैको उत्तिकै भूमिका रहन्छ र घटनालाई सहेर बस्ने होइन प्रतिकार गरेर समाज रुपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएकी छन्।

उपन्यासमा कर्णालीको दूर्गम ग्रामीण परिवेश, शिक्षित तथा अशिक्षित दुबैखाले पात्रहरूको सहभागिता रहेको छ भने उपन्यासमा प्रयुक्त भाषाशैली अत्यन्त सरल, सहज र बोधगम्य छ। नगन्य स्थानमा सामान्य ब्याकरणीय त्रुटी देख्न सकिन्छ। बीचबीचमा कर्णाली सेरोफेरोको आञ्चलिक भाषाशैलीको प्रयोगले उपन्यासलाई अझ परिवेश सुहाउँदो र कर्णालीको आफ्नो बनाएको छ।

यधपि ‘बैकिनी’ मा कर्णालीको परिवेश प्रस्तुत गरिएता पनि यो कृति नेपालको सम्पूर्ण भूगोलको प्रतिनिधि घटनाक्रम बोकेको एक आशावादी र सशक्त कृति हो।

सुन्दर सिर्जनाको लागि प्रिय लेखक सिर्जु शाहलाई हार्दिक बधाई। लेखनको यात्रा अझ सशक्त, सपाट र फराकिलो बनाेस् हृदयदेखि शुभकामना!!

उषा जोशी बैकिनी

ट्रेन्डिङ ( साप्ताहिक )