Logo
१ साउन २०८३, शुक्रबार

जलन उपचार सुधारमा मन्त्रालयको जोड, स्वास्थ्यकर्मीलाई विशेष तालिम दिने तयारी

अक्षरपाटी
२०८३ साउन १ , शुक्रबार ०१:०७ मा प्रकाशित

काठमाडौं १ साउन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा जलन उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, उपचारका एकीकृत मापदण्ड लागू गर्ने तथा सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी भइरहेको बताएकी छन्।

बिहीबार नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरका डा. किरण नकर्मी, डा. शंकरमान राई तथा जलन अभियान्ता उज्जल थापासँग भएको छलफलमा प्राथमिक उपचारसम्बन्धी ज्ञान विस्तार, स्थानीयदेखि संघीय तहसम्मका स्वास्थ्यकर्मीलाई जलन व्यवस्थापनसम्बन्धी विशेष तालिम सञ्चालन तथा देशभर एकरूप उपचार प्रणाली लागू गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

छलफलमा जलनका जटिल बिरामीको समयमै रेफरल, उपचारमा सहज पहुँच र गुणस्तरीय सेवा सुनिश्चित गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको थियो।

मन्त्री मेहताले जलन उपचारलाई स्वास्थ्य सेवाको प्राथमिकतामा राख्दै विशेषज्ञ संस्था र अभियान्तासँगको सहकार्यलाई थप प्रभावकारी बनाइने तथा प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म बिरामीको पहुँच सहज बनाइने बताइन्।

साथै, जलन रोकथामसम्बन्धी जनचेतना, स्वास्थ्यकर्मीको क्षमता विकास र नीतिगत सुधारका विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

जलन उपचार मन्त्री निशा मेहता