Logo
१० भदौ २०८३, बुधबार

भोटेकोशीमा ठूलो बाढी : सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन, सेनाका दुई हेलिकप्टर रसुवा पुगे

अक्षरपाटी
२०८३ भदौ १० , बुधबार १०:०८ मा प्रकाशित

काठमाडौं । तिब्बततर्फबाट आएको ठूलो बाढीले रसुवाको टिमुरे बजार क्षेत्रमा क्षति पुर्‍याएपछि सरकारले उद्धार तथा राहतका लागि आवश्यक तयारी तीव्र बनाएको छ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजे एक्कासि ठूलो बाढी आएको हो। बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आएको छ। क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

बाढी रसुवाबाट नुवाकोटतर्फ समेत पुगेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेशप्रसाद नेपालका अनुसार बाढी नुवाकोट पुगेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

गृह मन्त्रालयले अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च जोखिममा रहेको भन्दै रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

खोज तथा उद्धार आवश्यक परे वा कुनै किसिमको सहायता आवश्यक भए टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र ती क्षेत्रमा आवतजावत पूर्ण रूपमा रोक्नसमेत आग्रह गरिएको छ।

बाढीको सम्भावित क्षति र उद्धार व्यवस्थापनका लागि नुवाकोटमा जिल्ला समन्वय समितिको बैठकसमेत बसिरहेको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवातर्फ पठाइएको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ गइसकेका छन्। थप एउटा हेलिकप्टर पनि पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

स्थलमार्गबाट समेत नेपाली सेनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ समेत बढिरहेको बताइएको छ। बाढीका कारण ती क्षेत्रमा समेत जोखिम बढेकाले नदी तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने उद्धार तथा स्थलगत निरीक्षणपछि मात्रै यकिन हुने जनाइएको छ।

भोटेकोशीमा बाढी रसुवा

ट्रेन्डिङ ( साप्ताहिक )