


नयाँदिल्ली । शक्तिशाली चक्रवात ‘अर्नब’ले भारतको आन्ध्र प्रदेशमा ठूलो जनधनको क्षति पुर्याएको छ।
चक्रवातका कारण राज्यका तटीय जिल्लामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दुई लाख २४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको कृषि बालीमा क्षति पुगेको छ।
चक्रवातसँगै आएको तीव्र हावाहुरी र भारी वर्षाले घर, सडक, विद्युत् पोल तथा सञ्चार संरचनामा व्यापक क्षति पुर्याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
दर्जनौँ स्थानमा रुख ढलेर सडक अवरुद्ध भएका छन् भने विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ।
प्रारम्भिक विवरणअनुसार १४ जिल्लामा गरी करिब ३ लाख ४५ हजार किसानको खेती प्रभावित भएको छ।
सबैभन्दा ठूलो क्षति धानबालीमा भएको बताइएको छ। राज्य सरकारले प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउन केन्द्र सरकारसँग सहयोग मागेको छ।
चक्रवातको जोखिमलाई मध्यनजर गर्दै आन्ध्र प्रदेशका तटीय क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको थियो।
यसअघि आन्ध्र प्रदेश र छिमेकी ओडिशाबाट गरी एक लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।
चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा सडक, विद्युत् र सञ्चार सेवा प्रभावित भएका छन्।
राज्यका करिब १५ हजार विद्युत् पोल ढलेको र अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित गरिए पनि केही प्रभावित जिल्लामा पूर्ण रूपमा सेवा सञ्चालन हुन बाँकी रहेको मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले बताएका छन्।
चक्रवात अर्नबले तटीय क्षेत्रमा करिब १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको निरन्तर हावा चलाएको र झोक्कामा हावाको गति १५० किलोमिटर प्रतिघण्टासम्म पुगेको अधिकारीहरूले बताएका छन्।
चक्रवात आन्ध्र प्रदेश–यानम क्षेत्रनजिकैबाट जमिनमा प्रवेश गरेको थियो।
केन्द्रसँग तत्काल सहयोग माग
चक्रवातबाट भएको क्षतिको विवरण सार्वजनिक गर्दै आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडूले भारतीय गृहमन्त्री अमित शाहसँग टेलिफोनमार्फत छलफल गरेका छन्।
उनले प्रभावित किसान तथा अन्य क्षेत्रका लागि तत्काल केन्द्रीय सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।
नायडूले क्षतिको विस्तृत मूल्यांकन गर्न केन्द्रबाट टोली पठाउनसमेत आग्रह गरेका छन्।
त्यसपछि गृहमन्त्री शाहले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि केन्द्र सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।
राज्य सरकारले चक्रवात प्रभावित परिवारलाई राहत वितरण सुरु गरेको छ। मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच लाख भारतीय रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ।
चक्रवात कमजोर हुँदै गए पनि यसको प्रभावका कारण आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा र बाढीको जोखिम कायमै रहेको अधिकारीहरूले बताएका छन्।


