




काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको रात नेपालले आन्तरिक विद्युत् माग पूरा गर्दै ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गर्न सफल भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको रात प्रणालीमा कुल २ हजार ४००.३० मेगावाट विद्युत् उपलब्ध थियो।
त्यसमध्ये १ हजार ८१३ मेगावाट विद्युत् स्वदेशमै खपत भएको थियो भने बाँकी ५८७.३० मेगावाट भारततर्फ निर्यात गरिएको हो।
सन् २०२२ को तुलनामा यस वर्ष लक्ष्मीपूजाको रात नेपालको विद्युत् माग ३८.९ प्रतिशतले वृद्धि भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट जनधनसँगै विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको चुनौतीपूर्ण अवस्थामा समेत आन्तरिक विद्युत् आपूर्ति व्यवस्थापन गर्दै भारततर्फ विद्युत् निर्यातलाई निरन्तरता दिनुलाई मन्त्रालयले नेपालको ऊर्जा प्रणालीको बढ्दो क्षमता, पूर्वाधार र व्यवस्थापकीय दक्षताको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
मन्त्रालयले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणमा सरकार प्रतिबद्ध रहेको जनाएको छ।
चाडपर्वको समयमा समेत विद्युत् आपूर्ति व्यवस्थापनमा निरन्तर खटिएका नेपाल विद्युत् प्राधिकरण, लोड डिस्प्याच सेन्टर, प्रसारण तथा वितरण प्रणालीमा कार्यरत प्राविधिक र कर्मचारी, निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धक तथा जिम्मेवार उपभोक्ताप्रति मन्त्रालयले आभार व्यक्त गरेको छ।
मन्त्रालयले भने वर्षभरि नै भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नु प्रमुख प्राथमिकता रहेको स्पष्ट पारेको छ।
विशेषगरी हिउँदमा नदीको बहाव घट्दा विद्युत् उत्पादनमा कमी आउने भएकाले आन्तरिक माग व्यवस्थापनमा चुनौती आउन सक्ने मन्त्रालयको भनाइ छ।
त्यसका लागि जलाशययुक्त आयोजना निर्माण, प्रसारण लाइन विस्तार, वितरण प्रणाली सुदृढीकरण तथा ऊर्जा पूर्वाधारको आधुनिकीकरणलाई तीव्रता दिने मन्त्रालयले जनाएको छ।
ऊर्जा सुरक्षा बलियो बनाउँदै विद्युत् उत्पादन बढाउने, आन्तरिक खपत विस्तार गर्ने तथा क्षेत्रीय विद्युत् व्यापारको सम्भावना बढाउने सरकारको नीति रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले लक्ष्मीपूजाको अवसरमा सम्पूर्ण नेपालीमा शुभ दीपावलीको शुभकामनासमेत व्यक्त गरेको छ।
विद्युत

