




० अक्षरपाटी विशेष
धनगढी । एउटा बालकले विद्यालयमा के सिक्नुपर्छ?
गणितका सूत्र, विज्ञानका सिद्धान्त, इतिहासका फेहरिस्त र भाषाका व्याकरण मात्रै? वा परीक्षा उत्तीर्ण गर्ने क्षमता र राम्रो अंकभार बोकेको प्रमाणपत्र मात्रै?
कि आफूलाई चिन्न, अरूलाई बुझ्न, समस्यासँग जुध्न, निर्णय लिन, जिम्मेवारी बहन गर्न र समाजका लागि केही गर्न सक्ने चेतना पनि?
चैतन्य पाठशालाले यही प्रश्नको फराकिलो उत्तर खोजिरहेको छ।
धनगढीमा विस्तार भइरहेको चैतन्य पाठशालाको शैक्षिक परिकल्पना परम्परागत कक्षाकोठा र पाठ्यपुस्तकको सीमाभन्दा बाहिर गरिएको छ।
यस सँस्थामा शिक्षा भनेको केवल ज्ञानको हस्तान्तरण मात्र होइन, बालबालिकाको चेतना जागृत गर्ने, व्यक्तित्व निर्माण गर्ने र राट्रका लागि सबल नागरिक लागि तयार पार्ने अभियान पनि भएको सँस्थाका अध्यक्ष गणेश जोशीले बताए।
अध्यक्ष जोशीका अनुसार बालबालिकालाई केवल परीक्षा र प्रमाणपत्रका लागि तयार पार्ने शिक्षा अब पर्याप्त छैन। बदलिँदो विश्वमा ज्ञानसँगै सीप, संस्कार, आत्मविश्वास, सिर्जनशीलता र जिम्मेवारीबोध आवश्यक छ।
‘शिक्षा केवल जानकारी र प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन; यो व्यक्तिको चेतना जागृत गर्ने, चरित्र निर्माण गर्ने, क्षमता अभिवृद्धि गर्ने र समाज तथा विश्वको हितमा योगदान गर्न प्रेरित गर्ने जीवनपर्यन्तको साधना हो,’ जोशी भन्छन्।
कक्षाकोठाबाट जीवनसम्म
चैतन्य पाठशालाको मूल दर्शनको केन्द्रमा स्पष्ट मान्यता छ- सिकाइ जीवनसँग जोडिनुपर्छ। ज्ञान विज्ञानसँग र दर्शन सँस्कारसँग।
पाठ्यक्रम, पाठ्यपुस्तक र परीक्षाले ज्ञानको आधार दिन सक्छन्। तर जीवनका वास्तविक चुनौती सामना गर्न त्यसले मात्र पुग्दैन। त्यसका लागि निर्णय क्षमता चाहिन्छ, अनुशासन चाहिन्छ, आत्मविश्वास चाहिन्छ, आत्मानुशासन अनि अरूको भावना बुझ्ने क्षमता चाहिन्छ र समस्या आएपछि समाधान खोज्ने बानी चाहिन्छ।
यही कारण चैतन्य पाठशालाले विद्यार्थीको सिकाइलाई सामाजिक उत्तरदायित्व, मानवीय संवेदना, नैतिक मूल्य, राष्ट्रिय चेतना र विश्वव्यापी दृष्टिकोणसँग जोड्ने परिकल्पना गरेको छ।
विद्यालयले बालबालिकालाई ‘के पढ्ने?’ मात्र होइन, ‘किन पढ्ने?’ र ‘पढेको ज्ञानलाई जीवनमा कसरी प्रयोग गर्ने?’भन्ने प्रश्नको उत्तर खोज्ने वातावरण निर्माण गर्न खोजेको छ।
आत्मबोधबाट सुरु हुने व्यक्तित्व
बालबालिकाको विकास केवल बाहिरी उपलब्धिबाट मापन गर्न नसकिने विद्यालयको धारणा छ।
कुनै विद्यार्थीमा उत्कृष्ट गणितीय क्षमता हुन सक्छ, कसैमा कला र सिर्जनशीलता, कसैमा नेतृत्व क्षमता त कसैमा अनुसन्धान गर्ने स्वभाव। सबै बालबालिकाको सम्भावना एउटै हुँदैन। त्यसैले शिक्षा पनि एउटै ढाँचामा सीमित हुन नहुने विद्यालयका प्राचार्य प्रेमनिधि ओझाको बुझाइ छ।
चैतन्य पाठशालाले बालबालिकालाई आफ्नै क्षमता, रुचि र सम्भावना पहिचान गर्न सक्ने वातावरण बनाउने लक्ष्य लिएको उनले बताए।
आत्मबोधबाट आत्मविश्वास, आत्मविश्वासबाट आत्मनिर्माण र आत्मनिर्माणबाट जिम्मेवार व्यक्तित्व निर्माण-विद्यालयको शैक्षिक दर्शन यही यात्रामा केन्द्रित रहेको प्राचार्य ओझाले बताए।
यस क्रममा आत्मअनुशासन, नेतृत्व, अनुसन्धानशीलता, सिर्जनशीलता र समस्या समाधान गर्ने व्यावहारिक क्षमतालाई पनि शिक्षाको अभिन्न अंगउ बनाउने सोच अघि सारिएको छ।
प्रयोगशाला, खेलमैदान र ध्यानसम्म
चैतन्य पाठशालाको परिकल्पना केवल सैद्धान्तिक छैन। त्यसलाई व्यवहारमा उतार्न आधुनिक शैक्षिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिइएको छ।
विद्यालयको योजनामा स्विमिङ पुल, फुटसल कोर्ट, स्केट पार्क, व्यावसायिक तथा सीपमूलक प्रयोगशाला, जीवनोपयोगी सीप प्रयोगशाला, विज्ञान तथा प्रविधि प्रयोगशाला, खेलकुद तथा फिटनेस, योग तथा ध्यान र अनुसन्धान तथा नवप्रवर्तनका अवसरहरू समेटिएकाे अध्यक्ष जोशीले जानकारी दिए।
यसको उद्देश्य विद्यार्थीलाई किताबबाट बाहिर निकालेर अनुभवबाट सिकाउनु हो।
स्विमिङ पुलले आत्मविश्वास र शारीरिक दक्षता विकास गर्न सक्छ। फुटसल र खेलकुदले अनुशासन, सहकार्य र नेतृत्व सिकाउन सक्छ।
प्रयोगशालाले ‘सुनेर’ भन्दा ‘गरेर’ सिक्ने अवसर दिन सक्छ। योग र ध्यानले एकाग्रता तथा आत्मअनुशासन विकास गर्न सहयोग गर्न सक्छ।
यो हेर्दा लाग्छ- विद्यालयको भौतिक संरचना आफैँमा सिकाइको एउटा माध्यम बन्ने परिकल्पना गरिएको छ।
वेद र विज्ञानको संयोजन
आजको दिनमा हाम्रो सँस्कार, मुल्य, मान्यता र थितिहरु कमजोर बन्दै गएका छन्।
आधुनिक शिक्षाको दौडमा आफ्नो संस्कृति र मौलिकता हराउन नदिने विषयलाई पनि चैतन्य पाठशालाले महत्व दिएको छ।
विद्यालयले वेद र विज्ञानको संयोजन तथा प्रकृति र संस्कृतिप्रतिको सम्मानलाई आफ्नो शैक्षिक दृष्टिकोणको हिस्सा बनाएको छ।
यसको आशय आधुनिक प्रविधि र वैज्ञानिक सोचबाट टाढा जाने होइन। बरु विश्वस्तरीय ज्ञान हासिल गर्दै आफ्ना सामाजिक, सांस्कृतिक र मानवीय मूल्यलाई पनि आत्मसात् गर्ने पुस्ता निर्माण गर्नु हो।
आजको विद्यार्थी विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ, तर आफ्नो समाजप्रति बेखबर हुनु हुँदैन। ऊ प्रविधिमा दक्ष हुनुपर्छ, तर मानवीय संवेदनाबाट टाढा हुनु हुँदैन। ऊ सफल हुनुपर्छ, तर सफलताको अर्थ केवल व्यक्तिगत उपलब्धिमा सीमित हुनु हुँदैन।
चैतन्य पाठशालाको शैक्षिक दर्शनले यही सन्तुलन खोजेको अध्यक्ष जोशीको भनाइ छ।
धनगढीबाट विश्वस्तरीय सोचको यात्रा
सुदूरपश्चिमको प्रमुख शहर धनगढीमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्य चैतन्य पाठशालाको दीर्घकालीन योजनाको अर्को महत्वपूर्ण पक्ष हो।
दक्ष, अनुभवी र समर्पित शिक्षकको नेतृत्वमा आधुनिक शिक्षण पद्धति, प्रविधिमैत्री सिकाइ, अनुसन्धान, नवप्रवर्तन, व्यावहारिक अभ्यास र बहुआयामिक अवसरलाई एकीकृत गर्ने विद्यालयको योजना छ।
यसले धनगढी र सुदूरपश्चिमका बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि अन्यत्र निर्भर हुनुपर्ने अवस्थालाई समेत क्रमशः बदल्ने अपेक्षा बोकेको छ।
तर चैतन्य पाठशालाको सपना एउटा विद्यालयको भवन ठूलो बनाउने वा अत्याधुनिक संरचना थप्नेमा मात्र सीमित छैन।
यसको वास्तविक महत्व कस्तो पुस्ता निर्माण गर्ने भन्ने प्रश्नसँग जोडिएको उनले सुनाए।
‘सफल’ होइन, ‘सार्थक’ पुस्ता
आजको शिक्षा रोजगारी र प्रतिस्पर्धासँग जोडिनु स्वाभाविक हो। तर त्यससँगै समाजप्रतिको जिम्मेवारी र मानवताको बोध पनि आवश्यक छ।
चैतन्य पाठशाला बालबालिकालाई स्थानीय परिवेश बुझ्ने, राष्ट्रिय आवश्यकता पहिचान गर्ने र विश्वका साझा चुनौतीप्रति संवेदनशील बन्ने नागरिकका रूपमा विकास गर्न चाहन्छ।
विद्यालयको लक्ष्य दक्ष जनशक्ति उत्पादनमा मात्र सीमित छैन। चेतनशील, संस्कारवान्, आत्मनिर्भर, सिर्जनशील र विश्वकल्याणप्रति प्रतिबद्ध मानव शक्ति निर्माण यसको दीर्घकालीन अभिप्राय हो।
अध्यक्ष जोशीका लागि शिक्षा भनेको भविष्यका लागि प्रमाणपत्र जम्मा गर्ने प्रक्रिया होइन, भविष्य निर्माण गर्ने चेतना विकास गर्ने यात्रा हो।
त्यसैले चैतन्य पाठशालाको परिकल्पना एउटा विद्यालयको नामभन्दा पनि एउटा शैक्षिक दर्शनजस्तो देखिन्छ- जहाँ विद्यार्थीले किताबको पाठ मात्र पढ्दैन, जीवन बुझ्ने प्रयास गर्छन्, केवल प्रतिस्पर्धा गर्न सिक्दैन, सहकार्य गर्न पनि सिक्छन्, आफ्नो भविष्य मात्र सोच्दैनन्, समाज र संसारको भविष्यबारे पनि सोच्न थाल्छन्।
धनगढीबाट सुरु गरिएको यो संकल्पको अन्तिम गन्तव्य पनि त्यही हो- ज्ञानमा अब्बल, सीपमा सक्षम, संस्कारमा समृद्ध र चेतनामा जागृत पुस्ता निर्माण।
किनकि चैतन्य पाठशालाको विश्वासमा शिक्षा त्यतिबेला मात्र पूर्ण हुन्छ, जब त्यसले एउटा विद्यार्थीलाई सफल मात्र होइन, सार्थक जीवन बाँच्न सक्ने र अरूको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउन सक्ने मानव बनाउँछ।


