




धनगढी । शिवशिखर सहकारीमा बचत गरेको रकम फिर्ता पाउने आशासहित कैलाली र कञ्चनपुरका एक हजारभन्दा बढी बचतकर्ता जिल्ला अदालत कैलाली पुगेका छन्। सहकारीमा बचत गरेको रकम लामो समयदेखि फिर्ता नपाएका उनीहरू अदालतको प्रक्रियामार्फत आफ्नो रकम फिर्ता हुने अपेक्षासहित बकपत्रका लागि अदालत पुगेका हुन्।
कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बुधबार मात्रै करिब एक हजार चार सय बचतकर्ताको विवरण रुजु गरी जिल्ला अदालत पठाइएको छ। जिल्ला अदालतले उपलब्ध गराएको सूचीका आधारमा बचतकर्तालाई बकपत्रका लागि बोलाइएको उनले बताए।
प्रहरी कार्यालयमा आफ्नो नाम रुजु गराएपछि बचतकर्तालाई सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत पठाउने गरिएको छ। बुधबार अदालत परिसरमा बकपत्रका लागि पुगेका बचतकर्ताको ठूलो भीड लागेको थियो।
शिवशिखर सहकारीमा देशभरका सर्वसाधारणले बचत गरेको झन्डै १० अर्ब रुपैयाँ फसेको छ। यो नेपालको ठूला सहकारी ठगी प्रकरणमध्ये एक हो।
लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका बचतकर्तालाई जिल्ला अदालतले बकपत्रका लागि बोलाएसँगै रकम फिर्ता पाउने आशा पलाएको छ। यद्यपि, अदालतको प्रक्रिया पूरा भएपछि मात्रै बचतकर्ताले रकम फिर्ता पाउने विषय स्पष्ट हुनेछ।
धनगढी शिवशिखर सहकारी

