Logo
२६ पुस २०८१, शुक्रबार

मन्त्रिपरिषद् विस्तार आज, रास्वपाको भाग सुरक्षित

अक्षरपाटी
२०७९ चैत्र १६ , बिहीबार ०९:०३ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेकोले आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो ।

कसले कुन मन्त्रालय लिने भन्ने विषयमा भने टुङ्गो लाग्न बाँकी रहेको छ । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । यी मन्त्रालयहरु ३ माघको सहमतिअनुसार, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएका थिए । तर तीन वटै दलले पालैपालो सरकार छोडेपछि १५ माघदेखि जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै सरकारमा छन् ।

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई पनि सरकारमा ल्याउने प्रयास गरेका थिए । रास्वपाले पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा सरकार आउन बताएपछि गठबन्धनका दलहरु गैरसांसदलाई मन्त्री बनाउन सहमत भएनन् ।

बुधबार साँझसम्म रास्वपा सरकारमा आउने संभावना देखिएको छैन । तर तत्काल रास्वपा सरकारमा सहभागी नभए उसको भाग सुरक्षित राखिएको नेताहरु बताउँछन् ।

नेताहरूका अनुसार रास्वपा सरकारमा सहभागी हुन तयार भएको अवस्थामा अहिले पाएको मन्त्रालय संख्याबाट घट्न माओवादी केन्द्र तयार छ । स्रोतका अनुसार, अहिले भएको भागबण्डामा पनि रास्वपालाई सरकारमा ल्याउनकै लागि माओवादी केन्द्रले ५ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेसपालाई एक सिट छुट्याएको छ, जुन रास्वपा सरकारमा आउँदा दिइनेछ ।