ललिता निवाश जग्गा प्रकरणः थप दुई जना पक्रउ

अक्षरपाटी
२०८० असार १८ , सोमबार ०३:०७ मा प्रकाशित

काठमाडौं १८ असार। ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

आज पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन छन्।

ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्न सरकारी कागज किर्ते गरेको कसूरमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत् नक्कली मोही खडा गरिएका महर्जन पक्राउ परेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई सोमबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

योसँगै यो प्रकरणमा हालसम्म ११ जना पक्राउ परिसकेका छन्। तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेपछि छुटेका छन्।

समरजंग कमनपीको जग्गा टिकिन्छा गुठीमा लैजान तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्‍ बैठकले २०६९ का विभिन्न मितिमा निर्णय गरेको थियो।

सोही क्रममा नक्कली मोही खडा गर्ने गरी भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव दिनेश हरि अधिकारीसहितका कर्मचारीले टिप्पणी उठाउनेदेखि मन्त्रालयमा प्रस्ताव पेस गर्नेसम्मका काम गरेका थिए।

त्यसका लागि डिल्लीबजार मालपोत, समरजंग कम्पनी र गुठी संस्थानका कर्मचारीको मिलेमतोमा भूमाफियाले जग्गा हडप्ने पृष्ठभूमि तयार पारेका थिए।

समरजंग कम्पनीबाट टिकिन्छा गुठीमा ५ रोपनी जग्गा कायम गरेर भूमाफिया रामकुमार सुवेदी र सोभाकान्त ढकालसहितका गिरोहले आफ्नो बनाएका थिए।