काठमाडौं,२० पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत अवहेलना मुद्दामा सफाइ पाएका छन्। सात वर्षअघि दर्ता भएको मुद्दामा शुक्रबार सर्वोच्च अदालतले निर्णय सुनाउँदै अवहेलना गरेको मागदाबी नपुग्नेु फैसला गरेको हो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले रिट निवेदकले माग गरेबमोजिम मुद्दामा प्रतिवादी बनाइएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवहेलना गरेको नदेखिएको निर्णय सुनाएको हो।
सो मुद्दामाथि असोज ७ गते सुनुवाइ सकिएको थियो। त्यसपछि मंसिर १८ गते निर्णय सुनाउने भनिए पनि आजलाई सारिएको हो।
द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।
गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएपछि प्रचण्डले आफ्ना पार्टीका नेताहरूलाई चुनाव लड्न नदिने षडयन्त्र भएको भन्दै द्वन्द्वकालका मुद्दा व्यूँताए विद्रोही गर्ने चेतावनी दिएका थिए। शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला तथा सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।