Logo
१५ वैशाख २०८१, शनिबार

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै, औषधि प्रयोग गर्न अस्वीकार

अक्षरपाटी
२०७९ भदौ ३१ , शुक्रबार ०३:०९ मा प्रकाशित

३१ भदौ, धनगढी । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

तर उनले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ ।

अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ । केसीसँगै रहेका उनका सहयोगी डाक्टर अमृत जैसीले स्वास्थ्य अवस्था झन बिग्रिदै गएको जानकारी दिए । ब्लड प्रेसर पनि निकै घटेर ९०/६० पुगेको छ ।

डाक्टर केसीले आफू तीन करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधि लिन मानिरहेका छैनन् । ‘उहाँले तीन करोड नेपाली जनताका लागि उठाएका माग सरकारले सम्बोधन नगरेसम्म औषधि लिन्न भन्नुभएको छ,’ जैसीले भने ।

केसी धनगढी पुगेर अनशन बसेको पाँच दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सुनवाइ भएको छैन ।

उनका सहयोगी डाक्टर जैसीले सरकारी पक्ष आन्तरिक रुपमा अनौपचारिक सम्वादमा रहेको सुनिए पनि औपचारिक रुपमा वार्ताका लागि अहिलेसम्म प्रस्ताव नआएको बताए । डाक्टर केसी यसअघि भएका सम्झौता कार्यान्वयनको माग राखेर २० औँ पटक धनगढीमा आमरण अनसन बसेका छन् ।