Logo
१५ चैत्र २०८०, बिहीबार

राजमार्गका होटल : खाइनसक्नु खाना, खपिनसक्नु व्यवहार, चाडबाडमा मात्र अनुगमन

अक्षरपाटी
२०७९ भदौ १९ , आईतबार ०३:०९ मा प्रकाशित

मलेखु। एक त नागढुङ्गा–नौबिसे सडकखण्डको जाम, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना। गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दुर्व्यवहार।

होटल सञ्चालकले असुल्ने मनपरी मूल्यको त के कुरा गर्नु। खाना सफा भएनभन्दा होटलका सञ्चालक र मजदुरले दुर्व्यवहार गर्नुका साथै धम्क्याउने गरेका छन्।

केही दिनअघि काठमाडौंबाट धादिङ आउँदै गरेकी युनिशा अधिकारीले कान्तिपुर होटलमा दुई सय तिरेर एक प्लेट मःम मागिन्, तर खान सकिनन्। खान मिल्ने नै थिएन।

खानीखोलास्थित आरपी कोल्ड स्टोर एण्ड खाजा घरमा भेटिएकी अधिकारीले भनिन्, “मःम काँटा चम्चाले टिप्नै नमिल्ने थियो। मुखमा हाल्नसक्ने नै थिएन। गुनासो गर्दा होटलवालाले उल्टै थर्काउँदो रहेछ।”

हुन त राजमार्ग आसपासमा सञ्चालन हुने होटलमा यात्रु ठगिने र गुणस्तरहीन खाना खुवाउने विषय धेरै पुरानो हो। वषौँदेखि सर्वसाधारण यात्रुले भोग्दै आएको समस्या हो यो।

राजमार्ग आसपासमा हजारौँको सङ्ख्यामा होटल सञ्चालन भएका छन् । सरकारले मूल्यसूची अनिवार्यरूपमा राख्नुपर्ने नियम ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । खानाको गुणस्तरमा समेत सुधार हुन सकेको छैन ।

गुणस्तरअनुसार खानेकुरा महँगो भयो भनेर सञ्चालकलाई सुनाउँदा प्रायः सबैले धम्क्याइ खेप्नुपर्छ। खाना गुणस्तरीय भएन, महँगो भयो भनेर जसले सुनाउँछ उसले सञ्चालक वा मजदुरबाट खानाको साटो मुखभरिको जवाफ र दुर्व्यवहार सहनुपर्छ।

व्यवसायीले आफूखुसी खानाको मूल्य निर्धारण गरी यात्रुसँग असुल्दै आएका छन्। यात्रुहरूले महँगो मूल्य तिरेर पनि बासी खाना खानुपर्ने बाध्यता छ। गाडी सञ्चालक र होटल व्यवसायीको मिलेमतोमा सार्वजनिक सवारीमा आवतजावत गर्ने यात्रु यसरी ठगिँदै आएका छन्।

दार्चुलाबाट काठमाडौं हिँडेका तारादत्त भट्ट चढेको गाडी पृथ्वीराजमार्गको खयरघारीस्थित कान्तिपुर होटलमा रोकियो। भट्टले खाना मगे, तर दुई गाँस पनि खान सकेनन्।

प्रायजसो बासी खाना भेटिन्छ। महँगो पैसा तिरेर गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता छ। १५ रुपैयाँको चियालाई ४० सम्म लिन्छन्

सार्वजनिक यातायातमा यात्रारत उनलाई बस जहाँ रोकिन्छ त्यहीँ खाना खानुको विकल्प पनि थिएन। भोको पेट भर्नकै लागि खाना खाँदा प्रायजसो चिसो भइसकेको गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता आइपर्ने भट्टले गुनासो गरे।

“प्रायजसो बासी खाना भेटिन्छ। महँगो पैसा तिरेर गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता छ। १५ रुपैयाँको चियालाई ४० सम्म लिन्छन्”, उनले भने।

खानुभन्दा पहिले नै पैसा तिरेर दिइने खाना खान बस्यो भने खान नसकिने उनको अनुभव छ। ुहोटलवालासँग बोल्यो कि कुटुम्ला जस्तो गर्दोरहेछ। हाम्रोमा हुने यस्तै हो, खाए खाऊ नत्र जाऊ भन्दै उल्टै थर्काउँछ”, अर्का यात्रु अम्बिका श्रेष्ठले सुनाए।

होटलमा पसेर खानेकुरा खाँदा आफूहरु ठगिनु परेको, खानाबारे सोधपुछ गर्दा उल्टै दुर्व्यवहार सहनुपरेको तीतो यथार्थ अधिकांशले कुनै न कुनै बेला भोग्नुपरेकै छ।

“सधैँ यहीँ बाटो हिँडिराख्नुपर्छ, माइक्रो यहीँ रोक्छ। होटलवालालाई महँगो भयो, खाना चिसो रहेछ, भनेर सोध्नसमेत हुँदैन खानाको साटो गाली खाइन्छ”, श्रेष्ठ भन्छन्, “कहिले जामले रोकिन्छ कहिले पहिरोले छेकिएर समयमा गन्तव्य पुगिँदैन, जतिसुकै पैसा तिरेर जस्तोसुकै खाना भए पनि भोक मेटाएर हिँड्नु राजमार्गका यात्रुको बाध्यता हो।”

राजमार्गका होटल तथा रेस्टुराँ अन्यत्रभन्दा महँगा भएको स्वयं होटल सञ्चालकले नै स्वीकार्ने गरेका छन्। यात्रु ल्याउने गाडीलाई भत्ता दिनुपर्ने र तीन÷चार वटा खाना चालक सहचालकलाई निःशुल्क दिनुपर्दा खानाको मूल्य बढी लगाउनुपरेको होटल सञ्चालक कुमार घिमिरेले बताउँछन्।

होटल सञ्चालकको मिलेमतोमा बस तथा माइक्रोबस चालकले २० मिनेटमात्र खाना तथा खाजा खाने समय राखेर यात्रुलाई अप्ठ्यारोमा पार्ने गरेका छन्।

“बीस मिनेटमा शौचालय जान, हातमुख धुन र खाना, खाजा खान भ्याइँदैन। एउटै होटलमा एकैपटकमा दसौँ गाडी र सयौँ यात्रु हुनेहुँदा शौचालय, धारो र टेबलमा समेत पालो पाउन गाह्रो पर्छ”, काठमाडौँ आउँदै गरेकी राधिका अधिकारीले भनिन्, “खाना थप्न त कता हो कता पहिलेकै खाना बुत्याउन भ्याइँदैन।”

कर्मकाण्डी अनुगमन
पृथ्वीराजमार्गको नौबिसेदेखि बेनिघाट आसपासका होटलले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन थालेको छ। अनुगमनमा परेका अधिकांश होटल फोहरी भेटिएका छन्।

बाहिरबाट टिलिक्क पारिएका होटलको खानामा पनि गुणस्तर नभएको उपभोक्ताले गुनासो गरेका छन्। होटलले भान्छा र भाँडा माँझ्ने ठाउँ एकै ठाउँमा चलाएकोसमेत भेटिएको छ।

“बाहिर सरसफाइ छ तर खानामा गुणस्तर छैन। मूल्यसूची राखेको छ। आफ्नै मनोमानीमा तयार गरेकोसमेत भेटियो”, घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले भने, “किराना पसल होटलले दोब्बरसम्म मूल्य लिएको गुनासो आयो। त्यही गुनासोका आधारमा अनुगमन गर्दा ६० प्रतिशतसम्म बढी मूल्य लिएको पाइएको छ।”

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय धादिङले पृथ्वीराजमार्गअन्तर्गतको धादिङको चरौँदी, बेनिघाट, सलाङघाट, धार्के, नौबिसे क्षेत्र आसपासका होटल तथा खाजाघर र किराना पसलमा शनिबार पनि अनुगमन गरेको छ।

गुणस्तरहीन खाना दिने गरेको गुनासोपछि धादिङका सरकारी निकाय अनुगमनका लागि निस्किएका हुन्। होटल अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान बेच्ने, गुणस्तरहीन खानेकुरा बेच्ने होटललाई कारबाही पनि गरिएको छ।

स्थानीय नागरिक तथा यात्रुको गुनासोलाई ध्यान दिएर अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए पनि यो अनुगमन चाडबाडका बेला मात्रै हुनेगरेको गुनासो यात्रुको छ।

सरकारी निकायले अनुगमन नियमित नगर्ने गरेको गुनासो यत्रतत्र छ । तर सरकारी निकायले भने कर्मचारीको कमी, छोटो समयमा कार्यालय प्रमुख तथा कर्मचारीको सरुवा, भौगोलिक जटिलता लगायतका कारण बजार अनुगमन नियमित हुन नसकेको बताउँदै आएको छ।

प्रत्येक दिन अनुगमनमै खटिने जनशक्ति नभए पनि आवश्यकताअनुसार अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी लम्सालको दाबी छ।

उता उपभोक्ताका नाममा खुलेका विभिन्न संघसंस्थाको त झनै नाकमुख समेत नदेखिने गरेको यात्रुहरु बताउँछन्। उनीहरु संस्था देखाएर उल्टै सडेगलेको खाना खुवाउने, महंगो मूल्य अशुल्नेबाटै लाभ लिइरहेको अनुमान पीडित उपभोक्ताहरु गर्छन।

राजमार्ग होटेल अनुगमन