Logo
६ वैशाख २०८१, बिहीबार

कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेसबाट बलायर, चुरे क्षेत्रको विकास जटिल मुद्दा

अक्षरपाटी
२०७९ असोज १२ , बुधबार ११:०९ मा प्रकाशित

धनगढी। कैलाली जिल्लाको क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका बीरबहादुर बलायरले आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने पक्का भएको छ।

नेपाली कांग्रेसले उनलाई पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउने भएको हो। सत्ता गठबन्धन दलका तर्फबाट डोटीमा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलाई उम्मेदवार बनाउने भएपछि बलायरलाई कैलाली सारिएको हो।

पार्टीले आफूलाई कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको उनले अक्षरपाटीसँग बताए। नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कमिटीका सभापति समेत रहेका बलायर पूर्व भौतिक तथा पूर्वाधार मन्त्रीसमेत हुन्।

युवा राजनीतिज्ञका रुपमासमेत चिनिएका बलायर कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने पक्का भएपछि यस क्षेत्रबाट सिफारिस भएका र चर्चामा रहेका कांग्रेसका सुनिल भण्डारी, प्रकाश बम, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, डा लक्ष्मीराज पाठक, भोजराज भट्ट, प्रदीपराज जोशीलगायतको सम्भावना क्षिण भएको छ।

कैलाली क्षेत्र नम्बर ४ यसअघि २०६४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट लेखराज भट्ट विजयी हुँदा कांग्रेसका दीर्घराज भाट पराजित भएका थिए।

२०७० को निर्वाचनमा भाटले भट्टलाई हराएका थिए भने २०७४ को निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेर माओवादीकातर्फबाट भट्ट विजयी भएका थिए। भट्टले ३१ हजार ३५९ मत ल्याउँदा नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत पाएका थिए।

अहिले भट्ट नेकपा एमालेमा प्रवेश गरेकाले उनको भोट बैंक खलबलिएको विश्लेषण गरिएको छ। यसअघि क्षेत्र नम्बर ४ मा पर्ने अधिकांस पालिकामा एमालेको सत्ता भए पनि सम्झनलायक विकास निर्माणको काम नगरेकाले पनि यस क्षेत्रमा एमालेको अवस्था कमजोर छ।

यस क्षेत्रको अधिकांस भाग पहाडी भूभाग रहेकाले त्यहाँको विकास, शिक्षा, सडक र स्वास्थ्य यस क्षेत्रका जनताको सबैभन्दा ठूलो सरोकारको विषय बन्ने गरेको छ। भट्टले निर्वाचनपछि त्यसमा चासो नदेखाएकाले पनि उनीप्रति यहाँका जनता सकारात्मक नभएको विश्लेषण गरिन थालेको छ।

 

बीरबहादुर बलायर