Logo
१३ वैशाख २०८१, बिहीबार

कञ्चनपुर २ मा साउद र धामीबीच प्रमुख प्रतिस्पर्धा, मुद्दा समेटनेलाई थारु समुदायको साथ !

अक्षरपाटी
२०७९ कात्तिक १५ , मंगलबार ०९:११ मा प्रकाशित

कञ्चनपुर। कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका एनपी साउद र नेकपा एमालेका नरबहादुर धामीबीच कडा प्रतिस्पर्धा हुनेभएको छ।

लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा होमिएका साउद र एमालेबाट उम्मेदवार बनेका धामी तेस्रोपटक चुनावी प्रतिस्पर्धामा छन्।

गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन्। उनले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सारेका छन्। चुनावी प्रचारका क्रममा उनले आफू सांसद नहुँदा पनि गरेको विकासका योजनाको चर्चा गर्ने गरेका छन्। साउद सिँचाइमन्त्री भएर कार्य गरिसकेका नेता हुन्।

‘विगतका निर्वाचनमा एमाले र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन हुँदा २४ हजारभन्दा बढी मत ल्याएर पनि जित्न सकेनौँ’, उनले भने, ‘यसपटक गठबन्धन भएकाले माओवादी केन्द्रको पनि मत जुटेकाले जित सम्भव छ।

दुवै पार्टीबीचका विगतका कटुताका कुरा इतिहास भइसकेकाले गठबन्धनको मर्मअनुसार मत पाउनेमा उनी विश्वस्त छन्।

एमालेका पाँच वर्षअघि चुनावमा विजयी भएका उम्मेदवारले विकासका नाममा सिन्कोसमेत भाँच्न नसकेको उनको दाबी छ।

‘पाँच वर्षअघि मैले सुरु गरेका योजनासमेत पूरा हुनसकेका छैनन्’, उनले भने, ‘सांसद नभएर पनि तटबन्ध निर्माणका लागि १० करोडका योजना चालु आवमै ल्याएको छु।’ जनताले पत्याउने गरी काम गरिरहेको उनको दाबी छ।

साउद र धामी विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेर पहिचान बनाउन सफल भएका नेता हुन्। दुवै जना यस निर्वाचन क्षेत्रका सशक्त प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

एमालेका तर्फबाट चुनावी मैदानमा रहेका धामीको मतदाताबीच फरक किसिमको पहिचान छ। स्पष्ट वक्ताका रूपमा चिनिएका उनी यस क्षेत्रको विकास निर्माण, निकुञ्ज विस्थापित, सुकुम्बासीका मुद्दा संसद्मा बारम्बार उठाउनेमा पर्छन।

शुक्लाफाँटा प्राविधिक शिक्षालय स्थापना, सडक कालोपत्र, तटबन्ध निर्माणलगायतका विकासका मुद्दालाई उनले चुनावीसभामा सुनाउँदै आएका छन्।

‘मुक्त कमैया, मुक्त हलियाका १४ शिविर यसै निर्वाचन क्षेत्रमा पर्दछन्’, उनले भने, ‘शिविरमा बसोबास गर्दै आएका व्यक्तिको मुख्य समस्याका रूपमा नदी कटान, डुबानसँगै रोजगारीको छ, निर्वाचनमा विजयी भए ती कार्य पूरा गर्छौँ।’

प्राविधिक शिक्षालयका भौतिक संरचना निर्माण गर्नका लागि पाँच करोड ५० लाख बजेट विनियोजन भएको, प्राविधिकतर्फका विभिन्न विधामा पढाइ गराउने गरी कार्य गरेकाले यसकै आधारमा मत पाउने उनले बताए।

‘रैकवार विचवामा मात्रै चारवटा पक्की पुल निर्माणकार्य अगाडि बढेको छ, निकुञ्ज विस्थापितलाई १० कठ्ठा जग्गा वा ६० लाख मुआब्जा उपलब्ध गराउने नेकपा नेतृत्वको सरकारका बेला गठन भएको आयोगको सिफारिस कार्यान्वयन गराउने चुनावी मुख्य मुद्दा हो’, उनले भने।

चुनाव जितेपछि आफूले गर्ने विकास निर्माणको योजना पनि धामीले सुनाए। उने प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने, विद्यालयलाई प्रविधिमैत्री बनाउने, जनता आवास कार्यक्रमअन्तर्गत विपन्नका घर निर्माण गर्ने आफ्ना चुनावी मुद्दा भएको उनले बताए। जनताको बीचमै रहेर कार्य गर्दै आएकाले गत चुनावको नतिजा दोहो¥याउने उनको दाबी छ।

विसं २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा धामीले ३३ हजार दुई सय २० मत ल्याएर विजयी भएका थिए।

उनका प्रतिस्पर्धी साउदले २४ हजार आठ सय ३९ मत ल्याएर पराजय भगेका थिए। विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा साउदले धामीलाई पराजित गरेका थिए । यस निर्वाचन क्षेत्रमा तीनवटा नगरपालिका ३० वडा पर्दछन्। निर्वाचन क्षेत्रमा पहाडी र थारू समुदायको बसोबास छ। मुक्त कमैया, मुक्त हलिया र आरक्ष पीडितका समस्या यहाँका वर्षौँदेखिका समस्या हुन्।

दुवै उम्मेदवार पहाडी मूलका भएकाले पहाडी समुदायको मत विभाजन हुने पक्का छ। थारू मत निर्वाचनमा निर्णायक देखिएको छ। थारू समुदायलाई निर्वाचनमा आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारले आकर्षक चुनावी एजेण्डा अघि सारेर चुनावी प्रचारमा जुटेका छन्।

थारू अगुवा वीरबहादुर राजवंशी ठूला राजनीतिक दलहरूले थारू समुदायलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार नबनाएर थारूका मुद्दा ओझेलमा पार्न खोजेको गुनासो गरे।

थारू समुदायका मुद्दा चुनावी घोषणापत्रमा समावेश गर्ने राजनीतिक दललाई सघाउने उनको भनाइ छ। स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा तीनवटै पालिकामा कांग्रेसले २२ हजार चार सय ९९, एमालेले १९ हजार दुई सय ९२, माओवादी केन्द्रले १३ हजार चार सय ७८, नेकपा (एकीकृत समाजवादी)ले चार हजार छ सय ६७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार सात सय ४६ मत ल्याएका थिए।

सत्तारुढ गठबन्धन कांग्रेस, माओवादी, समाजवादीले ५२ हजार दुई सय १२ र एमाले सम्मिलित गठबन्धनले २१ हजार दुई सय ४२ मत ल्याएका थिए। स्थानीयको मतभार हेर्दा गठबन्धनका उम्मेदवार साउद बलियो देखिन्छन्। तर थारु समुदाय दुबै उम्मेदवारका लागि निर्णायक हुने विश्लेषण गरिएको छ।

साउद र धामीसहित हाम्रो नेपाली पार्टीका जगदीश अवस्थी, नेपाली कांग्रेस (विपी)का वीरबहादुर बोहरा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लोकराज भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीका सीताराम राना, राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशी, जनमत पार्टीका प्रेमसिंह बडाल र जनता प्रगतिशील पार्टीका विद्यादेव जोशी चुनावी मैदानमा छन्। उनीहरु पनि साउद र धामीका लागि चुनौति बन्ने पक्का छ। निर्वाचन क्षेत्र नं २ मा १ लाख पाँच हजार पाँच सय ५७ मतदाता र एक सय १८ मतदान केन्द्र छन्।

एन पी साउद नरबहादुर धामी