Logo
१५ वैशाख २०८१, शनिबार

रुकुमपूर्वमा पहिलोपटक शल्यक्रिया गरेर जन्माइयो शिशु

अक्षरपाटी
२०७९ मंसीर ११ , आईतबार ०४:११ मा प्रकाशित

रुकुमपूर्व। जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक एक गर्भवतीको शल्यक्रिया गरिएको छ। अस्पताल स्थापना भएको पाँच वर्षपछि जिल्ला अस्पतालमा पहिलो पटक सुत्केरीले शल्यक्रियामार्फत शिशु जन्माएकी हुन्।

शनिबार अस्पतालमा भूमे गाउँपालिका–८ की सन्तु बुढाको शल्यक्रिया गरिएको डा पूर्णबहादुर पुनले जानकारी दिए। उनको शल्यक्रिया डा नारायण बरालको टोलीले गरेको हो।

सुत्केरी हुने समय नाघेको र सामान्य अवस्थामा शिशु जन्माउन नसकेकाले शल्यक्रिया गर्नुपरेको डा पुनले बताए। ‘आमा र शिशुको स्वास्थ्य सामान्य छ’, उनले भने।

विसं २०७४ पुस ७ गते रुकुमकोटस्थित स्वास्थ्य चौकीलाई जिल्ला अस्पतालमा परिणत गरिएको थियो। आवश्यक जनशक्ति र पूर्वाधारको अभावमा जिल्ला अस्पतालले दिने सेवा प्रवाह राम्रोसँग हुन नसकेपछि सांसद विकास कोष र सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा २०७८ असारमा शल्यक्रिया भवन निर्माण गरिएको थियो।

सिस्ने गाउँपालिकाको ३५ लाख र तत्कालीन प्रतिनिधिसभा सदस्य कमला रोकाको संसद् विकास कोषको १४ लाख गरेर ४९ लाखको लगानीमा शल्यक्रिया भवन निर्माण गरिएको हो।