Logo
१४ वैशाख २०८१, शुक्रबार

दादुराले नेपालगन्जमा ३१ महिने बालकको मृत्यु, २९ भन्दा बढीमा संक्रमण

अक्षरपाटी
२०७९ पुस २१ , बिहीबार ०१:०१ मा प्रकाशित

दादुराका कारण नेपालगन्जमा ३१ महिनाका एक बालकको मृत्यु भएको छ । तीव्र गतिमा फैलिएको दादुराका कारण नेपालगन्ज उपमहानगरपालिका– ५ का वडाध्यक्षका ३१ महिनाका सहोदर भतिजाको मृत्यु भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

उनले ५–१५ वर्षमुनिका २९ भन्दा बढी बालबालिकामा दादुराको संक्रमण देखिएको बताए । नेपालगन्जका बालबालिकामा एक हप्ताअघि दादुरा संक्रमण देखिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका ४, ५, ७, ८, १०, १५ र २२ नम्बर वडाका बालबालिका बढी प्रभावित भएको उनको भनाइ छ । ‘एकपछि अर्को गरी दादुरा संक्रमित बालबालिका थपिने क्रम जारी छ,’ उनले भने ।

दादुरा संक्रमण भएका अधिकांश बालबालिका दादुराविरुद्धको खोप नलगाएका रहेको उनले बताए । ‘दादुराविरुद्ध खोप लगाएका बालबालिकामा पनि संक्रमण देखिएको छ, तर अहिले पुष्टि भएका अधिकांश बालबालिका खोप नलगाएका फेला परेका छन्,’ चन्दले भने ।

स्वास्थ्य शाखा प्रमुख चन्दले उपमहानगरमा रहेका सबै बालबालिकालाई खोप लगाउने तयारी अन्तिम चरणमा पुगेको बताए । उनले खोपको प्रक्रिया अगाडि बढिसकेको स्पष्ट पारे । ‘६ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई दादुराविरुद्धको खोप दिने तयारी अन्तिम चरणमा पुगेको छ । सकभर २२ पुसबाट खोप अभियान सुरु गर्छौँ,’ उनले भने ।

उनले बालबालिकाको अभिलेख संकलनका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको बताए । लगत संकलन र खोप अभियान सँगसँगै अगाडि बढेको उनको भनाइ छ ।