Logo
१२ वैशाख २०८१, बुधबार

कथा : यस्तो एउटा घुम्टी

अक्षरपाटी
२०७९ माघ २८ , शनिबार ०७:०२ मा प्रकाशित

बैँसको उन्मादलाई रोक्न नसक्नाले र कर्तव्य भुल्नाले आज रमेशकी श्रीमतीले अर्कैलाई अँगाल्न पुगिन्। आज रमेशसँग पैसा छ तर माया छैन, हिजो पैसा थिएन तर माया थियो।

० शशी थापा पण्डित

सौरभलाई आज बिछोडको यादले बेस्सरी सताएको छ। एल्बमका तस्बिरहरुमा आफ्नो यादका बिम्बहरू पहिल्याउन खोज्दै छ। ती फोटाहरूमा मन बहलाउँदा यादका ती प्रत्येक पलहरू झनै घुम्टो उघार्दै एकपछि अर्को गरी बाहिर निक्लन तँछाड मछाड गर्दैछन् । त्यो पहिलो दिनको भेट सौरभको दिमागको एक कुनाबाट फुत्त बाहिर निस्कियो ।

कलेजका ती दिनहरूमा ऊ साह्रै चुलबुले केटो थियो। पढाइमा भन्दा उसको ध्यान अन्य कुराहरूमा बढी जान्थ्यो । समूहमा बस्ने अनि केटीहरूलाई जिस्काउनु त उसको दैनिकी नै हुन्थ्यो।

एक दिन समिनासँग उसको मूठभेड भएको थियो। समिनालाई जिक्याउने क्रममा । तर उसलाई के थाहा, यस भेटले उसको जीवनले नै नयाँ मोड लिन्छ भन्ने ?

समिनालाई नयाँ देखेर ऊसहित उसका साथीहरूले जिक्याउँदै थिए। यस्ता जिक्याइ धेरै भोगिसकेकी थिई समिनाले। तरुण अवस्थामा पाइला राखेदेखि नै। त्यसैले उसलाई यस्ता व्यक्तिहरूप्रति रीस होइन दया लाग्थ्यो। कारण उसको नजरमा यस्ता व्यक्तिहरू आफ्नो बाटो भुलेका गन्तव्यहीन यात्री हुन। सकेसम्म यस्तालाई गाली हैन मायाले सम्झाएर सही बाटोमा हिँडाउनुपर्छ, ऊ यही सोच्दथी।

कथाकार

‘यो समयमा तिमीहरूको बाबा–आमाले खाई–नखाई गरेको लगानी किन खेर फालिरहेछौ? हेर आज केटीहरूलाई जिक्याएर जुन आनन्द लिँदै छौ, त्यो क्षणिक सुख त होला तिमीहरूको लागि तर त्यसले दीर्घकालीन रूपमा भविष्यमा पर्ने असरबारे सोचेका छौ ? तिमीहरूका लागि गरेको आमा–बाबुको दःुख र त्याग सम्झेर यस्तो क्रियाकलाप बन्द गरेर पढाइमा ध्यान देओ !’ समिनाले भनेकी थिई। यस कुराले सौरभलाई नराम्रोसँग झट्का लागेको थियो।

सौरभ आफ्नो अतीतमा डुब्न थाल्छ। आफ्ना बाबा–आमाले खेपेको भोक सम्झन थाल्दछ। आफूहरूलाई पढाउनका लागि लिएको ऋण सम्झन्छ। मप्रति कति आस छ उहाँहरूको ! म ठूलो भएपछि नाम र धन कमाउने बन्छु र यी दुःखका दिन हट्नेछन् भन्ने विश्वास लिनुभएको छ मेरा आमाबुबाले।

हो, आज म आफ्नो पथबाट दिग्भ्रमित बन्दै रहेछु । यो केटीले गरेको कुरा ठीक हो । ऊ सोचमग्न हुन्छ।

‘हामीलाई पाठ पढाउने भएकी हेर न यो त कृष्ण मास्टर्नी जस्ती रहिछे।’
‘तिमी त हामीलाई अर्ति उपदेश दिने मास्टर्नी हौ ?’

‘हा हा हा …………।’ सौरभका साथीहरूले उल्लीबिल्ली लगाउन थाले समिनालाई। सौरभ भने ती साथीहरूसँगसैगै लागेर केही पनि बोलेन। केटी जिक्याउन यी साथीहरूभन्दा पनि एक पाइला अगाडि सर्ने सौरभको स्वभावमा देखिएको यो शान्ति साथीहरूलाई पचेन क्यार!

‘केटी सा¥है राम्री लागि कि क्या हो सौरभ ?’ उसको मौनतालाई छेड्दै एउटा साथिले भनिहाल्यो।

हा हा हा………..।’ हाँस्न थाले साथीहरू ।

‘कि एकै नजरमा माया नै लाग्न थाल्यो ? त्यसो हो भने भन है कुरा चलाइदिउँला हा हा हा ……….।’ अर्काे साथीले थप व्यङ्ग्य गर्यो उसमाथि।

उसले ती साथीहरूको साथ क्रमश बिस्तारै घटाउन थाल्यो । र त्यही मास्टर्नी जो उसका साथीहरूले दिएको उपमा भएकी थि, उसैको क्लासकी साथी समिना, उसैसँग नजिक हुन थाल्यो ऊ।

समिनाका व्यवहारले ऊप्रति झन्–झन् आकृष्ट हुँदैगयो। एक प्रकारले आपूmप्रति उदार हुन थालेको व्यवहारले गर्दा समिना पनि उसको उपस्थितिलाई मन पराउन थाली। दुवैको कुरा दुवैलाई मन पर्न थाले। एकलाई परेको अप्ठ््यारोमा अर्काेले हर–तरहले सहयोग पु¥याउन थाले।

कलेजका विद्यार्थी दिनहरू क्रमशः बित्दै थिए। एक दिन बिए तेस्रो वर्षको मध्यतिर कलेजले अध्ययन–भ्रमणका लागि सुर्खेत लगेको थियो। त्यहाँको पुरातात्विक भग्नावशेषहरूकोे स्थलगत अध्ययन–भ्रमणका साथै केही तालिम पनि लिनुपर्ने थियो।

तर भ्रमणकै बीचमा सौरभलाई ज्वरो आएको हुनाले स्थलगत भ्रमणमा ऊ जान सकेन र कोठामै सुतेर बस्यो। समिना भने भ्रमणमै थिई। तर उसको मन भने त्यहाँ रम्न सकेको थिएन। उसले हरपल सौरभलाई नै सम्झिरहेकी थिई– ‘कतै ऊ ज्वरोले छट्पटाउँदै छ कि ? भोकले रन्थनियो कि?’

खाजा खाने समयमा समिना टाउको दुखेको बहानामा होटलमा फर्किई र सरासर सौरभको कोठामा गई। नभन्दै ऊ ज्वरो बढेकोले आलसतालस हुँदै छटपट्ँिदै रहेछ। तत्कालै डाक्टर बोलाएर जचाउँन लगाई र डाक्टरले भनेबमोजिम औषधि र खाना खुवाई।

केही घण्टापछि सौरभको ज्वरो केही कम भयो । उसको यही सहयोगी भावना र हेरविचारले गर्दा सौरभमा समिनाप्रति झनै बढी माया पलाउँदै गयो। त्यसपछिका दिनहरूमा झुकाव झन्–झन् तीब्र रूपले बढ्न थाल्यो।

सोच्यो, उसको बाँकी भविष्यका लागि अन्तिम गन्तव्य ऊ नै हो। उता समिना पनि सौरभको मायालु व्यवहारले पग्लिसकेकी थिई । दुवैले माया साटे पनि ‘म तिमीलाई माया गर्छु’ भन्न भने सकेका थिएनन्।

कलेज जीवन सकिएर दुवै आ–आफ्नो कार्यक्षेत्रमा लागिसकेका थिए । तर भेटघाट र सहयोग भने दुवैले दुवैलाई बरोबर गरिरहन्थे। बिहे गर्ने उमेर दुवैको भइसकेको थियो। घरमा बिहेको कुरा उठिरहेको थियो। तर अरूसँगको बिहे दुवैलाई स्वीकार्य थिएन।

यसैबीच सौरभले समिनाका सामु गएर निडरतापूर्वक प्रस्ताव राख्यो ।

‘समिना म तिमीसँग बिहेगर्न चाहन्छु ।’ वास्तवमा समिनालाई पनि यो प्रस्ताव स्वीकार्ने मन थियो। तथापि अन्तरजातियताका कारण दुवैको घरबाट स्वीकृति पाउन भने अलि गा¥हो थियो। तर मायाको सगरमाथाको अगाडि अरू पहाडले के रोक्न सक्थ्यो ? त्यसैले आपसी समझदारीमा बिहे गरी छाडे।

जिन्दगीको प्रेम मार्गमा खुसी नै थिए दुवैजना । दिनहरू बित्दै थिए रमाइलोसँग।

समिनाको पढाइको भोक भने मेटिसकेको थिएन। उसले एक दिन सौरभलाई भनी– ‘हेर, म अझै पढ्न चाहन्छु। त्यसका लागि अमेरिका जान चाहन्छु म। यसमा तिमी के भन्छौ ?’

अमेरिका जान्छु भन्ने उनको चाहनामा सौरभलाई विछोडको पीडाले झसङ्ग बनाउँछ तर केही वर्षको तड्पाइमा उसको भविष्य बन्छ भने त्यो क्षण स्वीकार्न ऊ राजी भयो।

ऋण काढेर भए पनि श्रीमतीको चाहनाअनुसार अमेरिका पठायो। विवाह भएको डेढ वर्ष भएको थियो। आखिर सम्बन्धहरूलाई अनेक कर्तव्य र भविष्य बनाउने पानाहरूले गर्दा विछोड पार्दाे रहेछ । मनै मारेर पनि विछोडलाई स्वीकार्नु पर्दाेरहेछ।

उसकी श्रीमती गएकी पनि आज पाँच वर्ष पुग्न लागिसकेको छ । श्रीमतीले बारम्बार भनिरहेकी छे– ‘तिमी पनि अमेरिका नै आऊ।’

तर उसले भन्यो ‘यहाँ बूढा बाबुआमा हुनुहुन्छ । रेखदेख गर्ने कोही छैन। आजकै दिनका लागि त वहाँहरूले हामीलाई हुर्काउनु, बढाउनुभएको हो।’
‘यतैबाट पैसा पठाइदिऊला नि !’ भन्छे समिना ।

‘के बाबुआमालाई पैसा पठाएर छोराछोरीको कर्तव्य पूरा हुन्छ ? सन्तानले दिनुपर्ने माया र कर्तव्यको सुख पैसाले दिन्छ ? मुटु नभएको देशमा पुगेर त्यति बिघ्न माया पोख्ने समिनाको मुटुमा पनि माया हरायो कि ?’ ऊ सोच्न थाल्छ फोटोहरूमा एकोहोरिएर।

आज यो कुराले मात्र पनि सताएको थिएन। उसको साथी रमेश आज विदेशबाट फर्किएको थियो। एयरपोर्टमा लिन गएको थियो ऊ। विदेश जाँदा ऊसहित उसकी श्रीमती पनि सँगै पु¥याउन गएका थिए। आज घर फर्कदा थाहा छैन श्रीमती कहाँ छ?

सुनौलो भविष्य र राम्रोसँग जीवन जिउने लालसामा रमेश विदेश गएको थियो। साथीको आग्रहअनुसार उसकी श्रीमतीलाई सम्झाएको थियो, उसले।

‘केही वर्ष त हो नि बिछोड हुने । पछि त सँगै अभावरहित भविष्य बाँच्न पाहुनुहुन्छ? त्यसको लागि केही वर्ष त्याग गर्नुस् भाउजू ! म पनि त समिनाको बिछोडमा बसेको छु।’

यी वाक्य आजै बोलेको हो कि जस्तो लाग्दै छ उसलाई । तर बैँसको उन्मादलाई रोक्न नसक्नाले र कर्तव्य भुल्नाले आज रमेशकी श्रीमतीले अर्कैलाई अँगाल्न पुगिन्। आज रमेशसँग पैसा छ तर माया छैन, हिजो पैसा थिएन तर माया थियो।

‘के अब त्यो माया पैसाले किन्न सक्छ रमेश ?’ ऊ प्रश्न तेस्र्याउँछ आफैसँग। लक्ष्मीप्रसाद देवकोटाले ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भनेर त्यसै भनेका चाहिँ होइन रहेछन्, ऊ सोच्न थाल्दछ।

केही वर्षको बिछोडमा नै मैले कसरी समिनालाई धोका दिएँ। के मायाभन्दा ठूलो शारीरिक वासना हो? वासनामा मात्र जिन्दगी देख्ने भए पशु र मानिसबीच भेद के नै रह्यो र?

रमेशको यही घटनाले गर्दा आज उसको मनमा ज्वारभाटा उम्लेर आएको छ। त्यो यसकारण कि आज ऊ पनि श्रीमतीको अभावमा कुनै अरू नै केटीसँग सामीप्यता बढाँउदै छ। उसलाई डर लाग्छ, कतै श्रीमती फर्केर स्वदेश आउन्जेलसम्म उसले माया र शारीरिक चाहनाको लागि कुनै केटी अपनाइसकेको नहोस्! ऊ झसङ्ग हुन्छ। नमितासँगको सम्बन्ध सम्झेर। आखिर उसले सात–आठ वर्षसम्मको मायामा रमेर समिनालाई अँगालेको थियो।

‘केही वर्षको बिछोडमा नै मैले कसरी समिनालाई धोका दिएँ। के मायाभन्दा ठूलो शारीरिक वासना हो? वासनामा मात्र जिन्दगी देख्ने भए पशु र मानिसबीच भेद के नै रह्यो र?’ ऊ मनमनै प्रश्न गर्छ?

तर समयको मागलाई कसले रोक्न सक्छ ? नमितासँग उसले शारीरिक भोक मेटाइसकेको थियो।

‘यो कुरा यदि समिनाले थाहा पाई भने के उसले मलाई अपनाउँछे होला ? आज ऊ आफैप्रति ग्लानि महसुस गर्दैछ।

अर्काेतर्फको सोचसँग पनि उसको मन डराउँदैछ, अहिले । ‘कतै मजस्तै मेरी श्रीमती पनि विदेशमा अरू कुनै केटाको मायामा पो फसेकी छ कि ?’ सम्झेर झसँग हुन्छ ऊ। चिटचिट पसिना आउँछ उसको निधारभरि । दाहिने हातको हत्केलाले पुस्छ निदारमा।

‘आखिर मानिसको मनै त हो, कुन बेला कुन रूपमा प्रकट हुन्छ, मानिस स्वयंले त थाहा पाउँदैन ? पाँच–पाँच वर्ष भैसक्यो……. ।’ सोचाइले उसको मन झन्–झन् व्याकुल हुन्छ । आफ्नो सम्बन्धलाई सहज रूपमा स्वीकार्न पुरुषप्रधान समाजको खोल ओढ्न पुगेको उसको मनस्थिति श्रीमतीको परपुरुषसँगको सामीप्य भने कल्पनामा पनि ऊ स्वीकार्न सक्दैन र आफैलाई भन्छ–

‘त्यसो भएमा म उसलाई कदापि स्वीकार्न सक्दिनँ, अहँ सक्दिनँ !’ ऊ चिच्याँउदै कराउँछ ।

‘के भयो ?’
उसकी आमा कोठामा आउँछिन् । ऊ आमाको छलकपटपरहित अनुहार हेर्छ। फेरी भित्रभित्रै श्रीमतीको दोस्रो पुरूषसँगको सामीप्यको कल्पना गर्छ।

र, आफूलाई सम्हाल्ने झुठो कोसिससँगै आफैभित्र मडारिएको आँधी–बेहरीलाई नियन्त्रण गर्न भूmठो प्रयास गर्दै भन्छ–
‘केही होइन् आमा ।’
फिस्स हाँस्छ आमाको अगाडि।

[email protected]

कथा शशी थापा पण्डित