Logo
२१ वैशाख २०८१, शुक्रबार

धनगढी-अत्तरिया ६ लेन सडकमा सवारी पार्किङले यात्रुलाई सास्ती, भित्री सडक पनि अव्यवस्थित

अक्षरपाटी
२०७९ फागुन १२ , शुक्रबार ११:०२ मा प्रकाशित

धनगढी १२ फागुन। सुदूरपश्चिममको एक मात्र उपमहानगरपालिका धनगढी जोड्ने अत्तरिया धनगढी ६ लेन सडक सवारी पार्किङले जोखिमपूर्ण बनेको जनगुनासो बढेको छ।

धनगढी उपमहानगरपालिका ३ बोराडाँडी क्षेत्रमा यसरी सडकमै ठूला मालवाहक गाडी र पेट्रोलियम बोक्ने ट्यांकर सडकमै पार्किङ गरिँदा यात्रुहरुले जोखिम मोल्नुपरेको हो।

त्यहाँ मात्रै नभएर नगरका भित्री सडकमा पनि निर्माण सामग्री, ट्रयाक्टर, होइरो, गिट्टी, बालुवालगायतका निर्माण सामग्री थुपारेर राख्दा यात्रा गर्ने जोखिम भएको धनगडीबासीको गुनासो छ।

स्थानीय नारायण अवस्थीले सडकभरी मालबाहक सवारी पार्किङ गर्नाले यात्रुमा परेको समस्याबारे सामाजिक सञ्जालमा लेखेका छन्। उनले यात्रुले जोखिम मोलेर यात्रा गर्नुपरे पनि सडकमा पार्किङ गरिने सवारी साधनलाई व्यवस्थित गर्न व्यवसायी मात्रै उदासिन होइन, उपमहानगरपालिका, नगर प्रहरी र ट्राफिक प्रहरी नै बेखबर भएको गुनासो गरेका छन्।

राजनीतिज्ञ चित्रराज भट्टले पनि महानगरका भित्री गाउँमा पनि यो समस्या जटिल बन्नै गएको गुनासो गर्दै यसलाई व्यवस्थित गर्न धनगढी उपमहानगरलाई अपिल गरेका छन्।

उनले लेखेका छन्, ‘ उपमहानगरपालिका भनिने ग्रामीण क्षेत्रतिर पनि दयनीय अवस्था छ । सडकमा भेडा बाख्रा बाँध्ने, गोरू भैँसी बाध्ने, ट्रेक्टर हैंरो ट्राली बिसौनी गर्ने, गोरूगाडा राख्ने, फोहोर फाल्ने निर्माण सामग्री त बग्रेल्ती छन्। अझ ठुला सवारीसाधन राति बाटोमै बिसौनी गरिदिँदा कम्ता सकस बेहोर्नु परेको छैन। कैलाली गाउँ १३ नम्बर वडामा। उपमहानगरले कठोरतम् दण्ड सजाय गरोस्।’

उपमहानगरले नगर प्रहरी परिचालन गरे पनि नगरभित्रका यस्ता समस्यामा ध्यान नदिएको गुनासो स्थानीयको छ। स्मरण होस महानगरले तीन दिन अघि मात्रै ६ लेन सडकमा स्मार्ट बत्ति जडान गरेर झिलीमिली बनाएको छ। तर सडकमै हुने सवारी पार्किङको समस्या भने समाधान हुन सकेको छैन। जसले दुर्घटनाको जाखिम बढाएको छ।

महानगरले हरेक वडामा सडकबत्तिको व्यवस्थाका लागि बजेट विनियोजन गरे पनि बत्ति जडानको काम हुन नसक्दा पनि रातिको समयमा यस्ता पार्किङ र निर्माण सामग्री सडकमा राखिँदा थप जोखिम बढेको स्थानीयको गुनासो छ।
तस्विर: नारायण अवस्थीको फेसबुकबाट

धनगढी उपमहानगर