Logo
७ वैशाख २०८१, शुक्रबार

गेटालाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढ्यो

अक्षरपाटी
२०७९ चैत्र २ , बिहीबार १२:०३ मा प्रकाशित

धनगढी २ चैत। कैलालीको गेटामा निर्माणधीन गेटा मेडिकल कलेज अब सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाइएको छ।

गत माघ २९ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार विश्वविद्यालय बनाउने प्रक्रिया शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अघि बढाएको हो।

सो निर्णयसँगै भौतिक निर्माणलाई तिव्रता दिनुका साथै मन्त्रालयले विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक बनाउन थालेको हो।

विधेयक निर्माणका लागि मन्त्रालयले समिति गठन गरेर काम अगाडि बढाएको छ।

विधेयक निर्माण समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानुन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशका स्थानीय विज्ञ सदस्य रहेका छन्।

विश्वविद्यालयका लागि आवश्यक पर्ने जनशक्ति, भौतिक संरचनालगायतका विषयमा पनि छुट्टै अध्ययन भइरहेको छ।

जनशक्ति व्यवस्थापन तथा बजेट तर्जुमा विषयमा अर्थ मन्त्रालयसँग परामर्श भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ।

सुरुमा मेडिकल कलेज स्थापनाका लागि भनेर सरकारले जग्गा व्यवस्थापन तथा संरचना निर्माण अघि बढाएकाले भौतिक प्रगति अन्तिम चरणमा पुगेको छ।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले संरचना निर्माण अन्तिम चरणमा पुगेको जनाएका छन्।

कलेज निर्माणका लागि हालसम्म पाँच अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ। सम्पन्न भइसक्दासम्म साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।

तत्कालीन सरकारले मेडिकल स्थापनाका लागि २०५६ सालमै गेटा आँखा अस्पताल अगाडि ७७ बिघा जमिन छुट्याएको थियो।

२०६५ सालमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन पनि भएको थियो । २०७१ सालमा शिलान्यास भएको थियो। २०७४ सालबाट पूर्वाधार निर्माण सुरु भएको हो।

६ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि २८ वटा आधुनिक भवन निर्माण भइरहेको छ। निर्माणसँगै आन्तरिक सडक कालोपत्रे, ढल व्यवस्थापन, पानी र विद्युत् जडान भइरहेको छ।

विश्वविद्यालयलाई कुन मोडलमा लैजाने भन्ने निक्यौल संसदमा विधेयक लगेपछि मात्रै हुने बताइएको छ।

गेट मेडिकल कलेज