Logo
२३ वैशाख २०८१, आईतबार

अछामको बयालपाटामा आँखा शिविर, १२ सय लाभान्वित

अक्षरपाटी
२०७९ चैत्र २३ , बिहीबार ०२:०४ मा प्रकाशित

साँफेबगर। साँफेबगर नगरपालिका र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा ह्यामर रोटरी क्लब नर्वेको सहयोगमा आँखा शिविर सञ्चालन गरिएको छ।

चैत १९ देखि २२ गतेसम्म अछामको बयालपाटा अस्पतालमा संचालित आँखा शिविरमा १२ सय ८ जनाले आँखा उपचार सेवा लिएका छन्। तींमध्ये २ सय ११ जना मोतिबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरेर लेन्स प्रत्यारोपण गरिएको छ। उनीहरुले शल्यक्रियापछि गुमेको दृष्टि पुनः प्राप्त गरेका छन्।

शिविरमा साँफेनगरपालिकाको सहयोगमा ५ सय ७५ जनालाई निःशुल्क चश्मा उपलब्ध गराइएको छ। ४ सय २२ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो।

शिविरमा सेवा लिनेमध्ये केही आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुका कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा हर्षित भएका थिए।

गेटा आँखा अस्पतालका चीफ मेडिकल डाइरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा. सुरेशराज पन्तको नेतृत्वमा संचालित उक्त शिविरमा १४ जना प्राविधिकहको टोलीले सेवा प्रदान गरेका थिए।

उक्त शिविरहरु संचालनमा बयालपाटा अस्पतालका र साँफेबगर नगरपालिकाका कर्मचारी, पदाधिकारी तथा स्थानीय समाज सेवीहरुले महत्वपूर्ण योगदान पुर्याएका थिए।

यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा संचालित २१ वटा शाखाहरुबाट उपलब्ध गराइने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आइरहेको अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए।

आर्थिक अभावका कारण कसैले पनि अन्धकारमय जीवन बिताउनु नपरोस भनेर मोतिविन्दुको अप्रेशन गर्नुपर्ने बिरामीहरुलाई सहयोगी संस्था तेज कोहली रुईत फाउण्डेशनको सहयोगमा गेटा आँखा अस्पताल तथा अन्तरगतका आँखा अस्पताल महेन्द्रनगर, आँखा अस्पताल टीकापुर, आँखा अस्पताल डडेल्धुरामा नियमित आँखाको शल्यक्रिया सेवा प्रदान गर्नुका साथै सर्जिकल सेन्टर धनगढी बुद्धमन्दिरमा प्रत्येक बिहिवार र बेलौरीमा महिनाको अन्तिम बुधवार पनि नेपाली बिरामीहरुका लागि मोतिविन्दुको बिना टाँका हातले गरिने अप्रेशन निःशुल्क भइरहेको छ।