Logo
१७ असार २०८२, मंगलबार

साहित्यकार बैरागी काइँला सम्मानित

अक्षरपाटी
२०८० वैशाख १६ , शनिबार ०६:०४ मा प्रकाशित

काठमाडौं । नेपाली लेखक संघले आज देशैभर विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी लेखक दिवस मनाएको छ।

सम्पूर्ण लेखकहरूले गौरव गर्ने लाइब्रेरी पर्वका दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय नेपाली लेखक संघको केन्द्रीय सचिवालयको बैठकले गरेको थियो।

हरेक वर्ष बैशाख १६ लाई लेखक दिवसका रूपमा मनाउने निर्णयअनुसार लेखक दिवस मनाइएको हो।

विसं १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत् पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवम् बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीम शमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवाहरूलाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन वैशाख १६ लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको संघले जनाएको छ ।

नेपाली लेखक सङ्घको केन्द्रीय कार्य समितिले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा १ लाख रूपैँया राशिको राष्ट्रिय लेखक पुरस्कारसमेत प्रदान गरेको छ।

प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलो पटक वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँला (तिलबिक्रम नेम्बाङ)लाई अर्पण गरिएको हो।

पुरस्कार प्राप्त गरेपछि मन्तव्य दिँदै कवि काइँलाले आफूले लेखकीय सत्ताको उन्नयनका लागि खासै योगदान दिन नसक्दा पनि नेपाली लेखक सङ्घ पुरस्कार दिँदा आफूमाथि गम्भीर जिम्मेवारी आइपरेको विचार व्यक्त गरे।

उपप्रधानमन्त्री माननीय पूर्ण बहादुर खड्का प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँती विशिष्ट अतिथिका रुपमा उपस्थित थिए।