Logo
४ वैशाख २०८१, मंगलबार

बैतडीमा बर्षेनी कुपोषित बालबालिकाको संख्या बढ्दै

अक्षरपाटी
२०८० जेठ ४ , बिहीबार ०२:०५ मा प्रकाशित

बैतडी। बैतडीमा कुपोषित बालबालिकाको संख्या बर्षेनी बढ्दै गएको छ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०७८, ७९ मा एक हजार ९ सय ३४ जना बालबालिका कुपोषित भएका छन्।

बैतडीमा कुपोषित बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

एक हजार ९ सय ३४ मध्ये ३१२ जना कडा कुपोषणले ग्रसित छन्। उमेर र उचाइअनुसार बालबालिकामा निकै कम तौल र दुब्लापातला अनुहार भएको पाइएको छ।

कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र खोलेर पोषिलो खाना कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य प्रमुख भट्टले बताए। गत वर्षभन्दा यस वर्ष कुपोषित बालबालिका बढी फेला परेका हुन्।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार गत वर्ष एक हजार २ सय ९९ कुपोषित बालबालिका रहेकामा यस वर्ष एक हजार ९ सय ३४ जना कुपोषित बालबालिका पाइएका हुन्।

पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको छ।