Logo
२४ वैशाख २०८१, सोमबार

काठमाडौंका ठूला अस्पतालमा लक्षित वर्गलाई निःशुल्क उपचार सेवा दिए नदिएको महानगरद्वारा अनुगमन

अक्षरपाटी
२०८० जेठ २४ , बुधबार ०९:०६ मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिकामा रहेका ठूला अस्पतालमा लक्षित वर्गलाई निःशुल्क उपचार सेवा दिए नदिएको बारे काठमाडौं महानगरपालिकाले अनुगमन सुरु गरेको छ।

महानगरको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको नेतृत्वमा आज ओम अस्पताल र हेल्पिङ हेन्ड्स अस्पतालमा अनुगमन गरिएको हो।

लक्षित वर्गको निःशुल्क उपचारका लागि थप पहुँचयुक्त बनाउन काम गर्नुपर्ने देखिएको पौडेलले बताए।

‘लक्षित वर्गको उपचारका लागि छुट्टै व्यवस्था गरिएको देखिएन। नागरिक वडापत्र स्पष्ट देखिएन,’ अनुगमन सूचकका विषयमा जानकारी गराउँदै उनले भने।

उनले अनुगमनको क्रममा लक्षित वर्गको उपचारका लागि निःशुल्क शय्या भए र नभएको, चिकित्साजन्य फोहोरको व्यवस्थापन भए र नभएको, नागरिक वडा पत्र भए / नभएको, सेवाग्राहीमैत्री सेवा प्रवाह भए / नभएको हेरिएको जानकारी दिए।

यसैगरी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध भए / नभएकोलगायत विषय पनि हेरेको उनले बताए।

अनुगमनका क्रममा ओम अस्पतालका मेडिकल डाइरेक्टर हरिश जोशीले भने, ‘हाम्रामा लक्षित वर्गको निःशुल्क उपचार सेवाका लागि माग आएको छैन। यदि कोही आए भने हामीसँग भएका शय्यामध्ये उहाँलाई उपचार गर्नेमा निःशुल्क उपचारको ट्याग लगाएर सेवा दिन्छौं।’

अनुगमनका क्रममा साधारण शय्या भएका उपचार कक्षहरू, प्रशासन, नागरिक वडापत्र राखिएको ठाउँ, फोहोर व्यवस्थापन गर्ने गरिएको ठाउँ हेरिएको थियो ।

हेल्पिङ हेण्ड्स अस्पतालमा १ बिरामी र अर्को बिरामी राख्ने शय्याको नजिक दूरीमा राखेको थियो। अनुगमन अधिकारीहरूले सुधार गर्न निर्देशन दिएको छ।