Logo
२४ वैशाख २०८१, सोमबार

स्वास्थ्योपचार सेवा थप सुधारका लागि विभागीय मन्त्रालयको निर्देशन

अक्षरपाटी
२०८० जेठ २७ , शनिबार ०९:०६ मा प्रकाशित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभरका संघीय तथा प्रादेशिक अस्पतालहरुमा स्वास्थ्योपचार र सेवा थप प्रभावकारी बनाउन निर्देशन दिएको छ।

विभागीय मन्त्रीको स्थलगत अनुगमनका क्रममा अधिकांस अस्पतालमा स्वच्छ पिउने पानीको अभाव, उपयुक्त सरसफाई नभएको तथा संक्रमण हुनबाट सुरक्षित गर्न तापक्रम व्यवस्थापन पनि नपाइएकाले यसलाई व्यवस्थित गर्न देशैभरका अस्पताल प्रशासनलाई निर्देशन दिइएको हो।

शल्यक्रिया गरिएपछि र अन्य ठूला घाउचोट भएका बिरामीहरुका लागि अस्पतालमा तापक्रम व्यवस्थापन, स्वच्छ पिउने पानी र सरसफाईलाई चुस्त बनाउन भनिएको छ।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीमार्फत जारी विज्ञप्तिमा गर्मीयाम बढेसँगै तराई क्षेत्रलगायत देशभरका मध्यपहाडी जिल्लाहरुमा सर्पदंशबाट हुनसक्ने क्षति, आगलागी, झाडा पखाला, उच्च ज्वरोजस्ता रोग एवं विपदजन्य अवस्थामा तत्काली विरामीको उपचारका लागि तयारी अवस्थामा रहन पनि अपिल गरिएको छ।

‘अस्पतालहरुमा आवश्यकता अनुसारको उपचार व्यवस्था तयारी अवस्थामा राख्न र यस किसिमका रोग तथा विपद्जन्य अवस्थाका लागि पूर्व सतर्कता अपनाउन स्थानीय स्तरका रेडियो, एफएम, पत्रपत्रिकामार्फत सूचना सम्प्रेसण गर्न र पीडितको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रदान गरी आम नागरिकको जीवन रक्षामा २४ सै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन अनुरोध छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।