Logo
२० वैशाख २०८१, बिहीबार

सुदूरपश्चिममा आमहडताल सकियो, सोमबार प्रदेश सभा घेराउ

अक्षरपाटी
२०८० जेठ २८ , आईतबार ११:०६ मा प्रकाशित

धनगढी, २८ जेठ। सुदूरपश्चिम प्रदेश आज विहानदेखि सुरु भएको आमहड्तालपछि जनजीवन सामान्य अवस्थामा फर्किएको छ।

कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै थालिएको आमहड्ताल साँझबाट खुलेको हो।

सुदूरपश्चिम प्रदेशमा आइतबार बिहान ८ देखि साँझसम्म आमहड्ताल गरिएको थियो। आमहड्ताल शान्तिपूर्ण भएको प्रहरीको भनाइ छ।

बन्दका क्रममा सुदूरपश्चिममा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधनहरू, उद्योग तथा कल कारखानाहरू बन्द गरिएको थियो। यसमा व्यवसायीहरुले पनि साथ दिएका थिए।

दिनभर प्रदेशमा व्यापार व्यवसाय बन्द रहे। गत माघ २९ गते संघीय सरकारले गेटालाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।

नीति तथा कार्यक्रममा पनि सोही कुरा समेटिएको थियो। तर, बजेट वक्तव्यमा अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने समेटिएपछि यस क्षेत्रका नागरिक आन्दोलनमा छन्। उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका हुन्।

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले आमहड्ताल सफल भएको बताए।

प्रदेशका नौ वटै जिल्लामा हड्ताल सफल भएको बताउँदै उनले सोमबार सुदूरपश्चिम प्रदेश सभा घेराउको कार्यक्रम रहेको बताए।

आमहडताल सुदूरपश्चिम