Logo
२३ वैशाख २०८१, आईतबार

बाजुरामा भाइरल ज्वरोबाट दुईजनाको मृत्यु, सिंगो गाउँ नै प्रभावित

अक्षरपाटी
२०८० असोज ८ , सोमबार ०२:०९ मा प्रकाशित

बाजुरा,८ असोज । खप्तड छेडेदह गाउँपालिका २ माटेसागुमा भाइरल ज्वरोबाट दुईजनाको मृत्यु भएको छ। ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको हो । बुढाको चार दिन पहिला र शाहीको आइतबार राति मृत्यु भएको हो।

भाइरल ज्वरोबाट प्रभावित दुवैजनाको मृत्यु भएको स्थानीय गणेशबहादुर शाहीले बताए।

गाउँका सबै घरमा बिरामी परेका छन् । भाइरल ज्वरोले पुरै गाउँ नै प्रभावित भएको शाहीले जानकारी दिए। गाउँमा भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको छ। उपचारका लागि पहल गर्दा पनि कतैबाट स्वास्थ्यकर्मी नआएको स्थानीयले बताएका छन्।

बिरामीमा १ सय ३ डिग्रीमाथि ज्वोरो आउने, खोकी लाग्ने, श्वास फुल्नेजस्ता लक्षण देखा परेको स्थानीयले बताएका छन् । गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताएका छन् ।

खप्तडछेडेदह गाउँपालिकाबाट दुईजना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यलयबाट औषधिसहितको टोलि पठाउन लागेको उनले बताए।

भाइरल ज्वरोबाट वृद्धवृद्धा, बालबालिका र दिर्घरोगी सबैभन्दा बढी प्रभावित भएका छन् । स्वास्थ्य चौकी १ घण्टा टाढा रहेकाले उपचारमा जान निकै समस्या भएको छ । ‘ घरका सबै बिरामी परेका छन्। बोकेर लैजाने कोही छैन्। वर्षात्ले सडक बन्द भएपछि घरमै बिरामी परेर थला परेका छन्, ‘स्थानीय गणेश शाहीले भने ।

वडा तथा पालिकामा पटकपटक जानकारी गराउँदा पनि अहिलेसम्म स्वास्थ्यकर्मी नपुगेको उनले बताए । कसैको घरमा पानी दिने व्यक्तिसमेत नरहेको उनको भनाइ छ।

खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले स्वास्थ्यकर्मी टोलि प्रभावित क्षेत्रमा पठाइसकेको बताएका छन्। ल्याबसहितको टोलि पठाएको र रोगको पहिचान र नियन्त्रण नभए जिल्ला, प्रदेश, संघमा सहयोगको लागि आग्रह गरिने बताए।