Logo
२४ वैशाख २०८१, सोमबार

आज ३६ औँ विश्व एड्स दिवस,देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदै

अक्षरपाटी
२०८० मंसीर १५ , शुक्रबार १०:१२ मा प्रकाशित

१५ मंसिर । आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले दिवसको अवसरमा विभिन्न चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गर्दै आएको छ । केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआईभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एक जना एचआईभीबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने केन्द्रले जनाएको छ ।

विगत दुई दशकमा नेपालले एचआईभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि प्राप्त गरेको र सन् २०१० देखि सन् २०२२ सम्ममा नयाँ एचआईभी सङ्क्रमण दर झन्डै ७७ प्रतिशतले घटेको पाइएको छ । त्यस्तै एड्सबाट हुने मृत्युदर ८० प्रतिशतले घटेको छ ।

सन् १९८१ मा पहिलो एचआईभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा विश्वभर आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाख जनाको ज्यान गएको तथ्याङ्क छ । विश्वमा हरेक दिन तीन हजार छ सय मानिस एचआईभी सङ्क्रमित हुने गरेका छन् ।