Logo
२३ असोज २०८१, बुधबार

आज आठौँ स्वास्थ्य बीमा दिवस,अहिलेसम्म ७७ लाख भन्दा धेरै आबद्ध

अक्षरपाटी
२०८० चैत्र २५ , आईतबार ११:०४ मा प्रकाशित

काठमाण्डौ,२५ चैत । आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो ।

स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ । आज अन्तिम पालिकाको रुपमा काठमाण्डौको बुढानिलकण्ठमा सेवा विस्तारको शुरुवात हुन लागेको बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म ७७ लाख ७१ हजारभन्दा धेरै नागरिक आबद्ध भएका छन् ।

बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाकाअनुसार पछिल्लो जनगणनाको तथ्याङ्कनुसार ३५ दशमलव ८८ प्रतिशत घरपरिवार अनि २६ दशमलव ५४ प्रतिशत नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुगेको छ । बीमा नवीकरण गर्ने झण्डै ७० प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमबाट बीमितलाई न्यूनतम योगदान रकमका आधारमा स्वास्थ्य उपचार सुविधाको व्यवस्था छ ।

बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार गएको माघ १ गतेदेखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने व्यवस्था लागू गरेको छ । बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले वर्षभरीमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले थप दुईसय बुझाउनु पर्छ ।