

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन्।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले यसपटक चुनावमा सहभागी नहुने जानकारी दिएका हुन्। उनका अनुसार देउवाले निर्वाचन नलड्ने निर्णय पार्टीको पछिल्लो निर्णय र समग्र राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिएका हुन्।
देउवाले परम्परागत निर्वाचन क्षेत्र डडेल्धुराबाट उम्मेदवारीका लागि टिकट माग गरे पनि नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले उनलाई टिकट दिएको थिएन। कार्यसमितिले देउवालाई पार्टीको संरक्षकका रूपमा रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको थियो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ९ गते मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ।
वि.सं २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्दै आएका देउवा अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन्। लामो राजनीतिक यात्रापछि देउवाले यसपटक निर्वाचन राजनीतिबाट विश्राम लिने संकेत दिएका छन्।
नेपाली कांग्रेस शेरबहादुर देउवा



