



काठमाडौं । सरकारले आजदेखि देशभर कक्षा ६ मा अध्ययनरत किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सुरु गरेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार फागुन १५ गतेसम्म सञ्चालन हुने यस अभियानमा कक्षा ६ मा पढ्ने किशोरी तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ।
यसै अभियानअन्तर्गत गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाइने शाखाले जनाएको छ। हिमाली तथा हिउँ पर्ने जिल्लामा भने यो अभियान चैत महिनामा सञ्चालन हुनेछ।
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन पापिलोमा भाइरस (एचपिभी) सङ्क्रमण भएकाले त्यसको रोकथामका लागि एचपिभी खोप प्रभावकारी मानिन्छ। कक्षा ६ मा अध्ययनरत किशोरीलाई विद्यालयमै खोप दिइनेछ भने अन्य लक्षित समूहका किशोरीलाई नजिकका खोप केन्द्रबाट खोप उपलब्ध गराइनेछ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. गौतमले एचपिभी खोप शतप्रतिशत सुरक्षित र प्रभावकारी रहेकाले लक्षित सबै किशोरीलाई खोप लगाउन आग्रह गर्नुभयो। उहाँका अनुसार नेपालमा दैनिक औसत ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ, जसमा करिब ४ जनाको ज्यान जाने गरेको छ। तर, यो क्यान्सर एचपिभी खोपमार्फत रोकथाम गर्न सकिने उहाँको भनाइ छ।
सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको अभियानमा देशभर कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई एचपिभी खोप लगाइसकेको छ। यस वर्षको २० दिने अभियानमा करिब ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा पर्ने गरेको छ भने क्यान्सरका कारण महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ।
एचपिभी खोप



