



काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छन्।
आज गरेको अनुगमनका क्रममा उनले अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिएकी छन्।
पूर्व जानकारी विना नै अस्पताल पुगेकी मन्त्री मेहताले अनुगमनका क्रममा अस्पतालको सरसफाई, बिरामीको चाप र लामा लाइन, औषधि अभाव तथा स्वास्थ्य बीमामा देखिएका जटिलताका विषयमा प्रत्यक्ष अवलोकन गरेकी थिइन्।
अनुगमनका क्रममा नागरिकले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेका सास्ती र सामान्य औषधोपचारमा पनि घण्टौं कुर्नुपर्ने समस्याका बारेमा मन्त्रीले चासो व्यक्त गरिन्।
उनले अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई अस्पतालको सरसफाईमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन दिइन्।
‘जनताले सरकारी अस्पतालमा सेवा लिँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ,’ भन्दै उनले देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन्।
निशा मेहता स्वास्थ्य मन्त्री



