Logo
२९ वैशाख २०८३, मंगलबार

प्रदेश सरकारका कर्मचारीमाथि लम्कीचुहामा अवरोध, कार्यालय प्रवेशमै रोक

अक्षरपाटी
२०८३ वैशाख २९ , मंगलबार ११:०५ मा प्रकाशित

धनगढी । लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनको विषयलाई लिएर सुदूरपश्चिम प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीचको विवाद थप चर्किएको छ । प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि खटाएका कर्मचारीलाई लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले नगर प्रहरी लगाएर कार्यालय प्रवेशमै रोक लगाएकी छन् ।

सोमबार अस्पतालमा हाजिर हुन पुगेका कर्मचारीहरूलाई मेयर शाहीको निर्देशनमा नगर प्रहरीले कार्यालयबाट बाहिर निकालेको आरोप लागेको हो । घटनापछि प्रदेश सरकार र स्थानीय तहबीचको शक्ति संघर्ष खुला टकरावमा पुगेको देखिएको छ ।

सामाजिक विकास मन्त्रालयको वैशाख १५ गतेको सचिवस्तरीय निर्णयअनुसार आठौँ तहका मेडिकल अफिसर डा. कमलेश प्रसाद यादवलाई अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको थियो । यस्तै आर्थिक मामिला मन्त्रालयको निर्णयअनुसार छैटौँ तहका लेखा अधिकृत गणेश विष्ट तथा नासु लक्ष्मी श्रेष्ठलाई पनि कामकाजका लागि खटाइएको थियो ।

तर कर्मचारीहरू अस्पतालमा पुगेलगत्तै नगर प्रमुख शाहीले ‘प्रदेश सरकारको यहाँ कुनै अधिकार छैन’ भन्दै कार्यालय प्रवेशमै अवरोध गरेको पीडित पक्षको आरोप छ । उनीहरूका अनुसार नगर प्रहरी परिचालन गरेर लेखा अधिकृत विष्ट र नासु श्रेष्ठलाई कार्यालय परिसरबाटै बाहिर निकालिएको थियो ।

पीडित कर्मचारीहरूले आफूहरूमाथि अपमानजनक व्यवहार गरिएको भन्दै घटनालाई ‘गुण्डाशैलीको हस्तक्षेप’ को संज्ञा दिएका छन् । प्रदेश सरकारले औपचारिक निर्णय गरेर पठाएका कर्मचारीलाई कार्यस्थलमै अवरोध गरिनु राज्य संयन्त्रमाथिको हस्तक्षेप भएको उनीहरूको दाबी छ ।

निमित्त मेडिकल सुपरिटेन्डेन्टमा खटाइएका डा. यादव भने हालसम्म कार्यालयमा हाजिर हुन पुगेका छैनन् ।

लम्कीचुहा अस्पताल विवाद यसअघि नै सर्वोच्च अदालतसम्म पुगेको थियो । नगरपालिकाले अस्पताल सञ्चालनसम्बन्धी विषयमा चैत्र २४ गते रिट दायर गर्दै अन्तरिम आदेश माग गरेको थियो । तर वैशाख १४ गते सर्वोच्च अदालतले प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रादेशिक अस्पताल सञ्चालनको बाटो खुलेको मानिएको थियो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमै अस्पताल सञ्चालनका लागि साढे चार करोड रुपैयाँ विनियोजन गरिसकेको छ भने १४६ जनाको दरबन्दीसमेत स्वीकृत भइसकेको छ ।

यसअघि अस्पतालको ब्यानर अनावरण कार्यक्रमकै दिन पनि मेयर शाहीले अस्पतालको मूल गेटमा दमकल, एम्बुलेन्सलगायत सवारीसाधन तेर्स्याएर कार्यक्रम अवरुद्ध गरेकी थिइन् ।

लगातारका अवरोधपछि प्रदेश सरकारको स्वास्थ्य सेवा विस्तार योजना स्थानीय तहको राजनीतिक विवादमा फसेको टिप्पणी हुन थालेको छ ।

मेयर सुशीला शाही लम्कीचुहा नगरपालिका लम्कीचुहा प्रादेशिक अस्पताल