Logo
१ जेठ २०८३, शुक्रबार

औषधि व्यवस्थापनमा चरम कमजोरी, सरकारी अस्पतालमा ९ करोडका औषधि कुहिए

अक्षरपाटी
२०८३ जेठ १ , शुक्रबार ०५:०५ मा प्रकाशित

काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ९ करोड १७ लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य संस्थाहरूमा औषधि व्यवस्थापन, भण्डारण र अनुगमनमा गम्भीर लापरबाही भएको औंल्याएको हो ।

प्रतिवेदनअनुसार स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायत निकायमा ठूलो परिमाणमा औषधिजन्य सामग्री म्याद समाप्त भएको अवस्थामा भेटिएको छ ।

स्वास्थ्य सेवा विभागमा मात्रै विगतमा खरिद गरिएका २८ प्रकारका ४ करोड ७२ लाख २० हजार रुपैयाँ बराबरका औषधिको म्याद सकिएको उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा ४७ लाख ७० हजार रुपैयाँ बराबरका औषधि म्याद नाघेका छन् भने वीर अस्पतालमा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार रुपैयाँका औषधि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब १ करोड १९ लाख ९६ हजार रुपैयाँ बराबरका औषधि तथा सामग्री म्याद सकिएको पाइएको छ । यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि १ करोड रुपैयाँभन्दा बढी मूल्यका सामग्री म्याद सकिएर थन्किएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले सम्झौताअनुसार म्याद समाप्त भएका, टुटफुट भएका वा बढी मौज्दात रहेका औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गरिनुपर्ने भए पनि त्यसो नगर्दा राज्यको ठूलो लगानी खेर गएको जनाएको छ ।

प्रतिवेदनमा स्वास्थ्य संस्थाहरूलाई औषधि खरिद, भण्डारण र वितरण प्रणाली व्यवस्थित बनाउन तथा आपूर्तिकर्तालाई सम्झौताअनुसार जिम्मेवार बनाउन सुझाव दिइएको छ।

सरकारी अस्पताल

ट्रेन्डिङ ( साप्ताहिक )