Logo
३ जेठ २०८३, आईतबार

कङ्गोमा इबोला कहर : ८८ जनाको मृत्यु, स्वास्थ्य आपतकाल घोषणा

अक्षरपाटी
२०८३ जेठ ३ , आईतबार ०२:०५ मा प्रकाशित

काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा इबोला संक्रमण तीव्र रूपमा फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। हालसम्म प्रकोपका कारण ८८ जनाको मृत्यु भइसकेको छ भने ३ सय ३६ जनामा संक्रमणको शंका गरिएको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमण दर तीव्र रूपमा बढ्दै गएको छ। इबोलाको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिइएको छ। हालसम्म यस प्रकोप नियन्त्रणका लागि प्रभावकारी खोप उपलब्ध नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको बताइएको छ। उक्त क्षेत्र युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएकाले संक्रमण थप फैलिन सक्ने जोखिम बढेको छ। प्रारम्भिक संक्रमित एक स्वास्थ्यकर्मी रहेको जानकारी सार्वजनिक गरिएको छ।

स्थानीय बासिन्दाले उपचार केन्द्र र आइसोलेसन सुविधाको अभावका कारण बिरामीहरू घरमै मृत्यु भइरहेको बताएका छन्। पर्याप्त स्वास्थ्य सेवा नपुग्दा संक्रमण नियन्त्रणमा चुनौती थपिएको जनाइएको छ।

विश्व स्वास्थ्य सङ्गठनले अवस्था अझ जटिल बन्न सक्ने चेतावनी दिँदै प्रभावित क्षेत्र तथा छिमेकी देशहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य सहायता संस्थाहरूले उपचार टोली र आवश्यक स्वास्थ्य सामग्री परिचालन गर्ने तयारी थालेका छन्।

इबोला भाईरस विश्व स्वास्थ्य सङ्गठन

ट्रेन्डिङ ( साप्ताहिक )