



काठमाडौं । सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ । स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गर्ने जनाएको हो ।
बोर्डले बढ्दो वित्तीय संकट र सेवाप्रदायक संस्थालाई ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको कारण देखाउँदै बिहीबार सूचना जारी गरेको छ । बोर्डका अनुसार हालसम्म निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पताल र मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि लगायत नियमित सेवामा प्रत्यक्ष असर पर्ने देखिएको छ । आकस्मिक सेवा भने यथावत सञ्चालन हुने बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डको जेठ ११ गते बसेको बैठकले सेवा स्थगन गर्ने निर्णय गरेको हो । लामो समयदेखि सरकारले बीमावापतको रकम भुक्तानी नगरेको भन्दै निजी अस्पतालहरूले असन्तुष्टि जनाउँदै आएका थिए । कतिपय अस्पतालले यसअघि नै बीमाका बिरामी नलिने चेतावनी समेत दिएका थिए ।
स्वास्थ्य क्षेत्रका जानकारहरूले स्वास्थ्य बीमा कार्यक्रम वित्तीय अव्यवस्था, बक्यौता भुक्तानी र कमजोर व्यवस्थापनका कारण संकटमा परेको बताएका छन् ।
स्वास्थ्य बीमा



